‘लकडाउन’ भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या

मनीषा अवस्थी

काठमाडाै‌ं

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल ‘लकडाउन’ भएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखा परेको छ। दैनिक नुवाकोटको सिस्डोलमा व्यवस्थापन हुँदै आएको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि समस्या देखा परेको हो। फोहोरका कारण भाइरसको उच्च जोखिम हुने स्थानीयले फोहोरका गाडी जान नदिएपछि बिगत केही दिनदेखि नै फोहोर जान सकेको थिएन।  

निरन्तरको प्रयासपछि आज भने फोहोर गएको काठमाडौं महानगरपालिकाले जनाएको छ। तर, स्थानीय वडा कार्यालय र महानगरबीचमा पूर्ण सहमति नभइसकेकाले अझै अवरोध हुनसक्ने देखिएको छ।   

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागकाअनुसार अहिले स्थानीयलाई मास्क र पानी ट्याङ्की वितरण गरेपछि आज शनिबार भने ६३ वटा फोहोरका गाडी सिस्डोलमा फोहोर राखेर फर्किका हुन्। 

विभाग प्रमुख हरिकुमार श्रेष्ठले बिएल नेपाली सेवासँग भने, ‘निरन्तर छलफलपछि आजका लागि ६३ वटा गाडीले फोहोर व्यवस्थापन त गरिसके भोली अवरोध नभए त्यो भन्दा धेरै गाडी जानेछन्।’

उता ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष केदार पौडेलले भने दैनिक ६० वटा फोहोरका गाडी आउन दिने सहमति भएको बताएका छन्। वडाअध्यक्ष पौडेलले बिएल नेपाली सेवासँग भने, ‘अहिले दैनिक ६० वटा गाडी आउन दिने, ती सबैको ड्राइभरको फहोन नम्बर, गाडी नम्बर लगायतको सबै डिटेलले दिएपछि दैनिक ६० वटा गाडी आउन दिने सहमति भएको छ।’

उनकाअनुसार दिउँसोको समयमा यसको उच्च जोखिम हुने भन्दै हालका लागि बिहान ४ बजेदेखि ८ बजेभित्रमा  दैनिक ६० वटा ट्याक्टर सिस्डोल जाने र त्यसको सम्पूर्ण विवरण वडा लाई दिने सहमति भएको बताए। 

तर, सो सहमति नभइ अहिलेको लागि फोहोर लैजान दिने सहमति भएको जनाएको छ। योसँगै फोहोरमा दैनिक काम गर्ने मानिस समेत अहिले अभाव देखिएको महानगरपालिकाले जनाएको छ। फोहोरबाट महामारीको जोखिम उच्च रहेको हुँदा यसको व्यवस्थापनमा उच्च सतर्कता अपनाइएको उनले बताए।  

कोरोना भाइरसका कारण नेपाल पूर्ण लक डाउन भए पनि अत्यावश्यक सेवा अन्तर्गत पर्ने फोहोर व्यवस्थापन भने गरिदै आएको छ।

प्रकाशित मिति: : 2020-03-29 04:18:06

प्रतिकृया दिनुहोस्