अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणका कारण २ हजार २११ जनाको मृत्यु भएको छ।

शनिबार बेलुका अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्याले दुई हजारको आँकडा पार गरेको हो। अमेरिकामा पछिल्लो २४ घण्टामा पाँच सय १५ जना भन्दा बढीको कोरोनाका कारण ज्यान गएको छ। हरेक दिन अमेरिकामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।

कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै वासिङ्गटनपोस्टले उल्लेख गरेको छ।

तर पछिल्लो दुई दिनमै ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा बढीले बढेको हो। पछिल्लो केही दिनयता संक्रमण दर अत्याधिक तीव्र गतिमा बढेको छ र मृत्यु हुनेको संख्या पनि लगातार बढ्ने क्रम जारी छ। स्वास्थ्य अधिकारीले यो भन्दा खराब अवस्था आउन बाँकी नै रहेको भन्दै चेतावनी दिएका छन्।

विश्वव्यापी महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या १९ हजार भन्दा बढीले थपिएपछि कुल संक्रमितको संख्या अमेरिकामा १ लाख २३ हजार ३५१ पुगेको छ। सबैभन्दा बढी प्रभावित भएको न्यूर्योकमा मात्रै ५२ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-03-29 19:52:15

प्रतिकृया दिनुहोस्