वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका भारतीयलाई युवासंघले बाढ्याे खाद्यान्न

वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवासंघ नेपाल, पर्साले खाद्यान्न वितरण गरेको छ । 

पर्सा संयोजक महम्मद निजामुद्दिनको नेतृत्वमा गएको टोलीले अलपत्र परेकाहरुलाई तयारी खाद्यान्न वितरण गरेको हो । 

नेपालको विभिन्न शहरबाट वीरगञ्जहुँदै रक्सौलबाट गन्तव्यमा जान लागेका उनीहरुलाई रक्सौल नाकामा बसेका भारतीय प्रहरीले प्रवेशमा रोक लगाएपछि मितेरी पुलमै अड्कीएका छन् । 

नेपाल फर्किन नदिने र आफ्नो घर जानपनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ । मितेरी पुलमा भारतीय नागरिक अलपत्र परेको जानकारी आएपछि आफूहरुले तत्काल २० कार्टुन पानी, भुजा, बिस्कुट, चाउचाउ लगेर वितरण गरेको युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिनले बताए। 

राहत वितरण गर्न संघका केन्द्रीय सदस्य अरुण यादव, विमल पौडेल, मुकेश पाल लगायतको उपस्थिति रहेको थियो । 

दुवै देशबीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नागरिक अलपत्र पर्दा उनीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व बन्ने पनि उनले बताए।    
नेपालका विभिन्न शहरबाट आइपुगेका एक हजारभन्दा बढी भारतीय नागरिक भारत छिर्न नपाउँदा मितेरी पुलमा अलपत्र परेर बसेका छन्।
 

प्रकाशित मिति: : 2020-03-30 22:30:39

प्रतिकृया दिनुहोस्