कोरोनाका कारण जापानमा पहिलो सेलिब्रिटीको निधन

एजेन्सी

टाेकियाे

कोरोना भाइरसको संक्रमणका कारण जापानले आफ्नो देशको सबैभन्दा लोकप्रिय हास्य कलाकार केन सिमुरालाई गुमाएको छ। सोमबार जापानी पत्रपत्रिकाले ७० र ८० को दशकमा जापानीहरूको घरघरमा लोकप्रिय रहेका सिमुराको संक्रमणका कारण निधन भएको बताएका छन्। उनी ७० वर्षका थिए। 

उनी जापानको रक एन्ड रोल ब्याण्ड तथा कमेडियन समूह ‘द ड्राफ्टर्स’ का सदस्य थिए। गत सातामात्र उनको शरीरमा कोभिड–१९ को संक्रमण देखिएको थियो। उनी २० मार्चमा अस्पताल भर्ना भएका थिए। उनको शरीरमा कोरोनाको संक्रमण देखिएको २३ मार्चमा हो। उनी जापानको सेलिब्रिटीमा कोरोनाको संक्रमण लाग्ने पहिलो व्यक्ति थिए भने मर्ने पनि पहिलो बने। 

‘मैले कल्पना पनि गरेको थिइन उनको निधन यसरी हुन्छ भनेर,’ उनको एजेन्सीले भनेको छ, ‘उनले मानिसलाई हसाउन निकै मिहिनते गरे।’

‘द ड्राफ्टर्स’ समूहका अन्य सदस्यमा चा कातो (७७), बु ताकागी (८७) र कोजी नाकामोटो (७८) जिवित छन्। चर्चित जापानी गायिका नाओको केनले ट्वीट गर्दै साथीको निधनमा दुःख व्यक्त गरिन्। सिमुराको निधन भएको समाचार विदेशी मिडियामा डँढेला सल्केझै भएको छ। रोयटर्स, बीबीसी, सीएनबीसी, टर्किसको राष्ट्रिय समाचार आन्दोलु न्युज एजेन्सी, ताइवान, थाइल्यान्ड, फिलिपिन्स र इन्डोनेशियामा प्रमुखताका साथ छापिएका छन्। 

पश्चिमी टोकियोको वासिन्दा सिमुराको वास्तविक नाम यासुनोरी सिमुरा हो। सन् १९७४ मा ‘द ड्राफ्टर्स’ मा आवद्ध हुँदा उनले नाम परिवर्तन गरेर चु आरी राखेका थिए। निधन भइसकेका पूर्वअभिनेता चोसुके इकारिया र अन्य चार जना सदस्य मिलेर १९६६ मा जापानमा बिटल्स समूह गठन गरेका थिए। जुन जापानको कमेडीको इतिहासमा सबैभन्दा सफल मानिन्छ। 
 

प्रकाशित मिति: : 2020-03-30 23:48:04

प्रतिकृया दिनुहोस्