दिल्ली दूतावासको हर्कत र नेपालीहरुको चहाना

विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासले काम गर्न भारत आएका सयौं नेपालीहरू भारतका बिभिन्न ठाउँमा अलपत्र परेका छन्। काम गर्ने होटल, कम्पनी, रेस्टुरेन्ट बन्द भएपछि ती नेपालीहरू बिच बाटोमै अलपत्र परेर बिचल्ली परिरहेका छन्।

सीमा नाका र आसपासका क्षेत्रमा अपलत्र परेका उनीहरू यतिबेला नेपालमै जान चाहन्छन्। भारत पनि कोरोनाको उच्च जोखिममा रहेका तथ्यांक बाहिरिएसँगै यहाँ कार्यरत हजारौं नेपालीहरू अत्तालिएका हुन्।

अलपत्र परेका नेपालीलाई यतिबेला दूतावासभन्दा पनि विभिन्न संघ–संस्थाको सहयोगमा उद्धार गरिएको उद्धारकर्ताले बताएका छन्।

अलपत्र परेका नेपालीले दूतावासमा पटक–पटक फोन गर्दा समेत नउठाएको हरियाणाका उमेश रावलले बिएल नेपाली सेवालाई जानकारी दिए। दिल्ली दूतावासको फोन नउठाउने र समन्वय नगर्ने हर्कतले प्रवासी नेपाली आजित बनेका छन्। उनीहरुको दूतावाससँग गुनासै–गुनासा रहेका छन्।

भारतमा बसोबास गर्ने केही नेपाली दूतावासको समन्वय अभाव र अलपत्र नेपालीहरुलाई यसो भन्छन् –

भरत भट्टराई, मुम्बई

भारतमा बसोबास गर्ने अधिकांश नेपालीको मनसाय, मिल्यो भने गाउँ जाने हो। नेपालीका यहाँ दुःख नै दुःख छन्। कतिपय अलपत्र परेका छन्। कति बासस्थानमा छट्पटाईरहेको अवस्था छ। चर्चित नेपाली भनाई–बग्ने खोला धेरै अन्तरालपछि पुरानै स्थानमा फर्किन्छ। होटलमा काम गर्नेदेखि होटल मालिकसम्म बिभिन्न कार्यालयमा काम किन नगरोस् विश्वभर महामारिका रुपमा फैलिरहेको करोना भाइरसका कारणले साँच्चै आमालाई सम्झायो।

कोरोनाबाट महाराष्ट्र राज्य उच्च जोखिममा रहेको अवस्था छ। सयौं नेपालीको अलपत्र रहेको यस्तो समयमा दिल्ली दूताबास कानमा तेल हालेर बसेको छ। फोन गर्दा समेत दूतावासका कर्मचारी उठाउँदैनन् भन्ने गुनासा बढिरेहका छन्।

घनश्याम स्वार, भारत

नेपालका विकट ठाउँबाट भारतमा ज्याला मजदूरी गर्नेहरू यतिबेला अलपत्र परेका छन्। कोरोनाको त्रासले उनीहरू नेपाल जान खोजिरहेका छन्। सरकारले आफ्ना नागरिकको सुरक्षा गरोस्। दूतावासको समन्वयको अभाव पनि हो, कि धेरै नेपालीहरू अलपत्र परेको। दूतावासले हरेक शहरमा आफ्ना प्रतिनिधिसँग समन्वय गरोस्।

दिपक चन्द, मुम्बई

संकटको बेला कसलाई गुहार्ने र कसले बुझिदिने। दिल्ली राजदूतावास सामाजिक सञ्जालमा लेख्छ ‘जहाँ हुनुहुन्छ त्यहीँ ठाउँमा बस्नुहोस्, ठाउँ नछाड्नुहोस्, तर भएको कमाई पनि सकिदै गयो – परिवार बाल–बच्चा बसेर कसरी पाल्ने प्रवासीको गुनासो छ। सबै ठाउँमा लकडाउन छ। मुम्बई सुनसान छ।

लकडाउन अवधी बढ्दै जाँदा तनाव झन् बढ्दै छ। आफू बसेको ठाउँको आधिकारीक जानकारी पाउन कसलाई गुहार्ने। दूतावासले सम्पर्क नम्बर उपलब्ध गराए पनि फोन उठाउँदैन। सामाजिक सञ्जाल, अनलाईन तथा पत्रपत्रिकामा नेपालीहरु अलपत्र रहेको खबर पाउँदासम्म पनि सरकारले के हेरेर बसेको भन्ने प्रायःको गुनासो छ। कतिपय नेपालीहरु बस तथा रेल स्टेसनमै अलपत्र छन्। कति सीमाना मै अलपत्र। शहरहरु सुनसान छन्। यस्तो महामारीको चपेटामा परेका नेपालीको लागि उत्कृष्ट बिकल्प र ईच्छा भने कै गुनासो पोख्नु हो। यदि सरकारले सुनिदिए नेपाल फर्किने वातावरण मिलाईदिए मरे पनि आफ्नै देशमा आफन्त देखेर त मर्ने थियौं– भन्ने धेरै भेटिन्छन्। नेपाल सरकार, दिल्ली दूतावास, संघ–संस्थालाई – बिन्ती छ, अपठ्यारोमा परेकाहरुलाई भारत सरकारसँग मिलेर छिटो नेपाल फर्काउने काम गरौं।

करन साउद, मुम्बई

विश्वका हरेक देशमा छरिएका नेपालीहरू विदेशमा अलपत्र अवस्था छन्। भारतका नेपालीहरू लाखौको संख्यामा स्वदेश फर्के पनि धेरै नेपाली फर्कन पाएका छैनन्। कयौं नेपालीहरू भारतका विभिन्न शहरमा स्थायी बसोबास बसोबास गर्ने भए पनि अधिक नेपालीहरु भने अस्थायी बसोबास गर्ने गर्छन्।

कोरोनाका कारण लाखौ नेपाली कामबाट निकालिएका छन्। प्रायः नेपालीले कामबाट हात धुनु परेको छ। धेरै नेपालीलाई खान बस्नको लागि निकै समस्या भएको छ। मुम्बई, पुना, नाशिक, पञ्जाब, दिल्लीलगायतका क्षेत्रमा अलपत्र परेका समाचार बाहिर आएका छन्।

पीडितले आफूलाई उद्दारका लागि नेपाली दूतावास दिल्ली गुहार मागे पनि गुनासोहरू नसुनेको पीडितहरुको भनाई छ। यति हारगुहार माग्दा पनि नेपाली दूतावासले ध्यान दिएको छैन। दूतावासलाई फोन गर्दा कहिले फोन नै नलाग्ने कहिले फोन गर्दा फोन नै नउठ्ने गुनासा छन् ।

बलबहादुर जयगडी, पुणे

भारत सरकारले आवत–जावतलाई प्रत्येक राज्यको नाका कडाइको रुपमा लकडाउन गरेको छ। यो अवधि २१ दिनसम्म रहनेछ। नेपाली दूतावासले पनि सुरक्षित रहन अपिल गरिसकेको छ। यसको रोकथाममा विश्व स्वास्थ्य संगठन दिनरात खटिएको छ। स्वदेश फर्किदैमा सुरक्षित हुन्छौं, भन्ने त होईन तर, यात्रा गर्दा भीडभाडमा जान हुँदैन। अहिले प्रवासी नेपाली भयवित र चिन्तित छन्। जति सकिन्छ सुरक्षित नै बसौं। अलपत्र परेकालाई सक्दो सहयोग गरौं। नेपालीहरुको सुरक्षाका लागि दूतावाले ध्यान दिन जरूरी छ।

झनकराज भण्डारी पुणे

भारत प्रवासमा रोजगारीको शिलशिलामा काम गर्ने नेपालीको कम्पनी, होटेल, रेस्टुरेन्ट सबै बन्द भएका छन्। अब यसको एक मात्र विकल्प स्वदेश जानुपर्ने अवस्था आएको छ। केही नेपालीहरु छुटफुट र अलपत्र  परेका छन्। अलपत्र नेपालीहरुको उद्धारका लागि दूतावाले छिटै पहल थालोस्।

भारतका बिभिन्न ठाउँमा अलपत्र परेका नेपालीलाई उचित ब्यवस्थापन गरियोस्। भारत सरकार थालेर रोजीरोटी गुमाएका नेपालीलाई आर्थिक राहत उपलब्ध गराउन सकिन्छ, यसमा ध्यान केन्द्रित गरौं।

प्रकाशित मिति: : 2020-03-31 12:48:25

प्रतिकृया दिनुहोस्