लकडाउनमा फसेका अमेरिकी नागरिक लिएर कतार एयरलाइन्सको विमान उड्यो

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्वार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। 

उनीहरूलाई मंगलबार कतार एयर मार्फत स्वदेश लगिएको छ। भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो। अमेरिकाले  फिर्ता लगेका आफ्ना नागरिकमध्ये ९ जना बालबालिका पनि छन्। नेपालले लकडाउन सुरु गर्नुअघि नै अमेरिकाले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन ट्राभल एडभाइजरी जारी गरेको थियो।

साढे १ बजे प्रस्थान गरेको उक्त विमान कतारको दोहा हुँदै वासिङ्टन डीसिस्थित डलास इन्टरनेसनल एयरपोर्टमा अवतरण हुने छ। 

लकडाउनपछि नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश लैजाने अमेरिका पहिलो देश भने होइन। यसअघि जर्मनी र फ्रान्सले पनि चार्टर्ड विमानमार्फत ९ सयभन्दा बढी आफ्ना नागरिक नेपालबाट लगेका थिए। ती देशले पनि कतार एयरलाइन्सकै विमान चार्टर्ड गरेका थिए।

कोरोनाको महामारीपछि नेपालले एक सातायता नेपाल आउने सम्पूर्ण नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। त्यसअघि कोरोना संक्रमित भएका देशलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।
 

प्रकाशित मिति: : 2020-03-31 14:20:06

प्रतिकृया दिनुहोस्