अमेरिकामा कोरोनाका कारण एक लाख भन्दा बढीको मृत्यु हुनसक्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा एक देखि दुई लाख मानिसको ज्यान जानसक्ने बताएका छन्।

ह्वाइट हाउसमा भएको कोरोना टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले अमेरिकामा धेरैले ज्यान गुमाउने सम्भावना रहेको बताएका हुन्। 

उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गरेका छन्। शीर्ष स्वास्थ्य विज्ञले दिएको सल्लाह अनुसार कोरोनाको संक्रमणबाट जोगिनका लागि सावधानी अपनाउन उनले आग्रह गरेका हुन्।

यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको शंज्ञा दिएका ट्रम्प अहिले आएर कोरोना भाइरसबाट ‘त्रसिए’ को देखिएको छ।

मंगलबारको ब्रिफिङ्गमा ट्रम्पले भने, ‘अबको ३० दिन अमेरिकीले सुझाइएका सबै नियमहरु पालना गर्नु आवश्यक छ। यो जीवन र मृत्युको कुरा हो।’

ट्रम्पले भने, ‘अबको दुई हप्ता अति पीडादायी हुनेछ।’ उनले चेतावनी दिँदै भने, ‘हामी सबै अमेरिकी कठीन दिनका लागि तयार हुन् भन्ने चाहन्छौँ।’

शनिबार ट्रम्पले डा‍ एन्थोनी फाउचीको अनुसन्धानमा सहमति जनाउँदै अमेरिकामा धेरैले ज्यान गुमाउने जानकारी दिएका थिए। यद्यपी ट्रम्पले अमेरिकामा सबैले कोरोना भाइरसविरुद्ध उल्लेखनीय काम गरिरहेको बताएका थिए।

ह्वाइट हाउसका कोरोनाकोअडिनेटर डेबोराह बक्सले पत्रकार सम्मेलनमा अमेरिकामा अबको दुई हप्तामा हुन सक्ने मृत्युको संख्या आँकलन गरिएको विश्लेषणात्मक तथ्यांक फेरि प्रस्तुत गरेका थिए। उनले डा‍ फाउचीको अनुसन्धानमा सहमति पुनः जनाए।

कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको ज्यान जाने जोखिम रहेको ट्रम्पले बताए।

अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ। अमेरिकाका आधाजसो सङ्क्रमित न्यूयोर्क राज्यमा छन्।

ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताएका छन्।

जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ।
 

प्रकाशित मिति: : 2020-04-01 07:18:12

प्रतिकृया दिनुहोस्