‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

नागरिक दैनिक

नेपालगन्ज

 अर्जुन ओली

 कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन। भारतको रुपैडिहामा सयौंको संख्यामा रहेका नेपाली नागरिकले नेपालगन्ज नाकाबाट सहजै प्रवेश गर्न नपाएपछि अन्य अबैध नाकाबाट भएपनि नेपाल छिर्ने निधो गरे। कोही जिल्लाको राप्तीपारी नरैनापुर क्षेत्रका नाकाबाट प्रवेश गरे, भने कोही नेपालगन्ज आसपासका अबैध नाकाबाट। नेपाली सुरक्षाकर्मीले यतातिर प्रवेशमा कडाई गरेपनि सीमापारि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई साथ दिए। सीमामा अलपत्र परेका मध्ये सयौं ब्यक्तिहरु राप्तीपारी नरैनापुर, खयरभट्टी लगायतका अबैध नाकाबाट प्रवेश गरे। 

त्यसरी प्रवेश भएका मध्ये डेढ सयभन्दा बढी ब्यक्तिलाई फेला पारेर नरैनापुर गाउँपालिकाले क्वारेन्टाइनमा राखेर खाने र बस्ने ब्यवस्था मिलाइसकेको छ। यता, नेपालगन्जसँगै जोडिएको जयसपुरको अबैध नाकाबाट दुई दिनअघि सीमा प्रवेश गरेका १ सय ६४ जनालाई भने सीमाक्षेत्रमै रोकियो। उक्त समूहमा रहेका महिला र बालबालिका गरी ९ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याएर राखियो। तर, बाँकी १ सय ५५ जना नेपाली नागरिक दुई दिनदेखि खुल्ला आकाशमुनि बसिरहेका छन्। चिसो खेतको सुताई, रातभर लामखुट्टेको टोकाई र भोको पेटले उनीहरु झन् बिरामी पर्ने खतरा बढेको छ।

प्रकाशित मिति: : 2020-04-02 08:41:22

प्रतिकृया दिनुहोस्