लकडाउन उल्लंघन गर्ने साढे दुई सयभन्दा बढी नियन्त्रणमा

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं उपत्यकामा बिहीबार बिहानै लकडाउन उल्लंघन गर्ने साढे दुई सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहान ७ बजेसम्ममा उपत्यकाका विभिन्न ठाउँबाट दुई सय ४८ जना पुरुष र ३५ जना महिला गरी दुई सय ८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लकडाउनका बेला अत्यावश्यक काम नपरि घरबाहिर निस्किएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 
लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन्। अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ।

अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केहीबेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ।

यस्तै खाद्य लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय र सङ्घ संस्थाका गाडीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वितरण हुनेछ।

यस्तै बैंक तथा वित्तीय संस्थाका गाडीका लागि नेपाल राष्ट्र बैंक र राष्ट्र सेवक कर्मचारीले प्रयोग गर्ने गाडीका लागि सम्बन्धित मन्त्रालयबाट सवारी पास लिन सकिनेछ। अरु आकस्मिक प्रयोजनका लागि भने जिल्ला प्रशासन कार्यालयले नै सवारी पास उपलब्ध गराउने छ।
 

प्रकाशित मिति: : 2020-04-02 09:48:01

प्रतिकृया दिनुहोस्