घुमिफिरी आफ्नै गुँडमा

रातोपाटी

काठमाडौँ

खगेन्द्र संग्रौला

म स्व–क्वारेन्टाइन उर्फ स्व–गृह प्याकिसबन्दीमा छु । पृष्ठभूमिमा कोरोना भाइरस आतङ्क छ, मेरो नाकसामु छ कडीकडाउ सरकारी आदेश । सनक सिं महामहिम डोनाल्ड ट्रम्प शासित अमेरिकाबाट फर्केर जन्मथलो टेकेको भयो आज बाह्र दिन । ऐकान्तिक प्याकिसबन्दीमा खुम्चिएर बिताएका पट्यारलाग्दा बाह्र दिन ! अचम्म लाग्छ, फ्लाई दुबईको हवाई जहाज चढेर मसँगै फर्केका थुप्रै सहदेशवासीमध्ये सायद कोही नै क्वारेन्टाइनमा छैन, केवल म एकजना छु । सरकारी आज्ञाप्रति नतमस्तक मुद्रामा अतिशय बफादार म ! ‘तँ अविश्वसनीय नाथेको आदेशलाई लाइदियो त यात्रुगणले धोती’ भनी कसैले गिज्याए सरकार सायद शानका साथ भन्ला– चाबेलतिर हेर !

फिर्ती यात्रा थाल्न लाग्दा ओरिकामा कोरोना भइरसको असर हो कि होइनजस्तो मात्र थियो । राष्ट्रपति ट्रम्प अझै हर्षातिरेकको मुडमा थिए । अमेरिका पर्‍यो समस्त मानवजगत्को शोषण र दोहनकारी बूढो साँढे । चीनले तन्नेरी बहरको औतारमा जगत‍्को मैदान ताक्दा बूढा ट्रम्पलाई औडाहा भयो । कोरोना नामक महाव्याधीले जब चीनलाई ग्रास गर्‍यो, हँसीखुसी सुन्नाराम टाइपका ट्रम्पका ओठमा सायद मधुमय मुुस्कान नाच्यो । महामहिमले मनमनै भने हुनन्— कोरोनाको सर्वनाशक आक्रमणसँगै गयो अब ‘तेरो बेल्ट एन्ड रोड इनिसियटिभ’को ताई न तुईको फुर्ती । र, अबलाई तेरो केजाती ‘कनेक्टिभिटी’ फ्याँ डिस्कनेक्टिभिटी हुने भो । हैट्, ‘चाइनिज भाइरस !’ हो, खुच्चिङको भावमा ट्रम्पले कोरोनापीडित चीनलाई यसरी गिज्याए । विश्व विशाल छ— अरू धेरै कुरा थाहा नभए पनि ट्रम्पलाई यति कुरा थियो । यो विशाल विश्वको यत्रो आकाश छिचोलेर कसरी अमेरिका आइपुग्ला र ‘चाइनिज भाइरस’ ? ट्रम्पश्रीले यसरी गहन चिन्तन गरे हुनन् । अनि त्यत्रो भवसागर एट्लान्टिक महासागर तरेर... ? उन्मादी आवेगको घोडामा सवार भएका ट्रम्पलाई कोरोना हवाई जहाज वा पानी जहाज चढेर अमेरिका आउँछ भन्ने कुराको सायद हेक्का रहेन । महान्, सभ्य र स्वच्छ अमेरिकामा चीनबाट उब्जिएको फोहोर कोरोना भाइरस आउने ? असम्भव ! दूरदृष्टिका हदै गरिब ट्रम्पले आसन्न महामारीलाई चुट्कीको भरमा उडाइदिए । यसरी सोच्दा ट्रम्पको पश्चगामी चिन्तन तरङ्गमा अन्धराष्ट्रवादका भाइरसहरु जमजमाइरहेका हुँदा हुन् । र, निजहजुरको सङ्कीर्ण चित्त नश्लीय उन्मादको अन्धवेगी नशाले त्यसैत्यसै लठ्ठ भएको हुँदो हो ।

प्रकाशित मिति: : 2020-04-04 08:47:21

प्रतिकृया दिनुहोस्