सेनालाई स्वास्थ्य सामग्री खरीदको जिम्मा दिँदा नेकपाभित्र फेरि रडाको

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध स्वास्थ्य सामग्री आपूर्ति गर्न नेपाली सेनालाई दिने निर्णय गरेकोप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि देखिएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गर्दै आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपाल खेमाले उक्त निर्णयको विरोध गरेको हो ।

सरकारले हालै मात्र कोरोना भाइरसको उपचारका लागि चाहिने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), मास्क, चश्मालगायतका स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । पार्टीबाहिरबाट उक्त निर्णयको विरोध भइरहेका बेला नेकपाभित्र असन्तुष्ट समूहले सामाजिक सञ्जालमार्फत् समेत पार्टी बैठकको माग गर्न थालेको हो ।

वरिष्ठ नेता झलनाथ खनालले कार्यकारी अध्यक्ष प्रचण्डलाई फोन गरी सचिवालय बैठक तत्काल डाक्न माग गरेका छन् । उनले कोरोनाको महामारीविरुद्ध संसारै लकडाउन भएको अहिलेको अवस्थामा स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको र त्यसलाई अख्तियारले छानबिन गर्न नसक्ने उपायको खोजीमा सेनाको जिम्मा लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

पार्टी प्रचार विभाग प्रमुख रहेको नेकपा सचिवलय सदस्य नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेर नै पार्टी बैठकको माग गरे । उनले शनिबार ट्वीटरमा लेखे, 'हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेको छु। आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।'

वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विदेश विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमा स्ट्याटस लेख्दै सेनालाई औषधि खरीद गर्न दिने निर्णयको विरोध गरे । उनले लेखेका छन्, 'हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको यो कामै होइन र यसबाट सेनामाथिको नागरिक नियन्त्रण कमजोर हुन्छ ।सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने(दिने दुबैलाई सहज लाग्ला तर यसबाट हाम्रो प्रणााली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ ।'

वामदेव गौतमलाई राष्टियसभामा पठाउने सचिवालय निर्णयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको गठबन्धन जारी छ । 
 

प्रकाशित मिति: : 2020-04-04 17:49:32

प्रतिकृया दिनुहोस्