कोरोना महाव्याधिविरुद्ध डा. बाबुराम भट्टराई, स्वर्णिम वाग्लेसहितको समितिले सरकारलाई सहयोग र खबरदारी गर्ने 

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा कोरोना भाइरस संक्रमणबारे सरकारलाई सघाउन र खबरदारी गर्न युवा बौद्धिकहरुले पहल गरेका छन् । समितिमा राजनीतिज्ञ, चिकित्सक, अर्थशास्त्री लगायत छन्।

केन्द्रीय संयोजन समितिमा भट्टराईसहित कांग्रेस सांसद् प्रदीप गिरी, सांसद् डा. सुरेश यादव, योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, पूर्वसांसद एवम् भूपूसचिव जनकराज जोशी, व्यवसायी कृष्ण आचार्य, विश्वदीप पाण्डे, प्रदीप परियार, ब्रबिमकुमार छन् ।

समितिमा सूचना प्रविधि विज्ञ दोभान राई, अर्थशास्त्री  प्राध्यापक डा रेशम थापा. अधिकारकर्मी लुना रन्जित. चिकित्सक डा लोचन कार्की, जनस्वास्थ्य विज्ञ डा ल्हामो शेर्पा, शहरी शासन विज्ञ डा सबिन निंगलेखु, पूर्व एआइजीपी सुरेन्द्र शाह पनि रहेका छन् । 

केन्द्रीय संयोजन समितिका तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै भनिएको छ, 'कोरोना महाव्याधीका कारण सिर्जित संकटले नेपाललाई पनि छोइसकेको छ विश्वका अतिविकसित देशलाई समेत यसका विविध प्रभावहरुको लेखाजोखा तथा त्यसको लागि आवश्यक पहल लिन हम्मे हम्मे परिरहेको अवस्थामा नेपाल जस्तो विकासशील मुलुकलाई यसको व्यवस्थापन गर्न मुस्किल पर्नु स्वभाविक नै हो ।'

'कोरोना महाव्याधीलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमिकमजोरी छन्, यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो', विज्ञप्तिमा भनिएको छ, 'सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पुर्याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो ।'

पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म संयोजन समितिहरु रहने बताइएको छ । समितिले अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्रजारी गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाहरुलाई सहभागी गराउँदै लगिने बताइएको छ ।

प्रकाशित मिति: : 2020-04-04 22:57:54

प्रतिकृया दिनुहोस्