पाँचथरमा राहतका लागि ‘खाद्य बैंक’ स्थापना

पाँचथर उद्योग वाणिज्य सङ्घले खाद्य बैंक स्थापना गरेको छ। सकारले गरेको घोषणा लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘खाद्य बैंक’ स्थापना गरिएको हो।

उद्योगी, व्यवसायी तथा अन्य सहयोगीहरुले स्वेच्छिकरूपमा खाद्य सामग्री तथा रकम जम्मा गर्नसक्ने उक्त खाद्य बैंक सञ्चालनमा आइसकेको सङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए।

'खाद्य बैंकमा दाताहरुबाट खाद्यवस्तु चामल, दाल, नुन, तेल तथा नगद सङ्कलन गरिनका साथै वितरण भने स्थानीय तह आफैँले गर्नेछन्।'

न्यून आय भएका परिवार तथा असङ्गठित मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापना गरिएको सङ्घले जनाएको छ ।

शनिबार साँझसम्म खाद्य बैंकमा पाँच हजार ५०० किलो चामल, १५० किलो नुन, १६० लिटर तेल, १७५ किलो दाल र रु ९१ हजार नगद जम्मा भएको अध्यक्ष नेपालले जानकारी दिए।

'उद्योगी, व्यवसायीबाट असङ्गठितरूपमा उपलब्ध गराइने राहत प्रभावकारी नहुने तथा वास्तविक पीडितले प्राप्त गर्न नसक्ने भएका कारण सङ्घको मातहतमा खाद्य बैंक स्थापना भएको हो', उनले भने।

सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा निजी क्षेत्रसमेत सामेल हुन उक्त पहलले सहयोग पुग्ने यहाँको निजी क्षेत्रको विश्वास छ। 

प्रकाशित मिति: : 2020-04-05 15:14:48

प्रतिकृया दिनुहोस्