दीपालाई १२ दिनपछि संक्रमण, बिक ट्युबबाट महाकाली प्रवेश, राज गौरीफन्टा नाकाबाट प्रवेश

श्याम भट्ट

कञ्चनपुर

सुदूरपश्चिममा फेला परेका थप तीन कोरोना भाइरस संक्रमितमध्ये दुई भारतबाट आएको र एक जना पहिलेदेखि नै धनगढीको सेती प्रादेशीक अस्पतालमा उपचार गराइरहेका अमृत शाहीको भाउजु रहेको खुल्न आएको छ। 

अमृत युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट दुई साताअघि नेपाल आएका थिए। उनको भाउजु दीपा शाहीलाई १२ दिनपछि संक्रमण देखिएको हो। यसअघि चेकजाँच गर्दा उनीमा कुनै संक्रमण देखिएको थिएन। 

अमृत आफैँ धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कोरोनाको चेकजाँच गर्न गएका थिए। यही उनी संक्रमित भएको पत्ता लागेको थियो। अमृतकी भाउजु नेपालमै संक्रमित पहिलो व्यक्ति हुन्।

उनलाई संक्रमण देखिएपछि सरकारले देशमा कोरोनाको अवस्था दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो। पहिलो व्यक्तिबाट संक्रमण सरेको उनी पहिलो व्यक्ति पनि हुन्। 

सुदूरपश्चिममा हाल ४ जना कोरोनाका संक्रमित देखिएका छन्। त्यसमध्ये दुई जना १० दिनअघि धनगढीको गौरीफन्टा नाका र महाकाली नदीबाट ट्युबको सहाराले नेपाल प्रवेश गरेका व्यक्ति हुन्। 

पछिल्लो समय कोरोनाको संक्रमित भेटिएका इन्द्रबहादुर बिक कञ्चनपुरको भिमदत्त जाेडिएकाे बेतकोट नगरपालिकास्थित सुन्दरपुरका निवासी हुन्। उनी भारतबाट ट्युबबाट महाकाली तरेर महेन्द्रनगर हुँदै घर पुगेका थिए। 

अर्का राज कोली लम्कीका स्थायी वासिन्दा हुन्। उनी दुई साताअघि धनगढीबाट एक हजार जनालाई नेपाल प्रवेश गर्ने अनुमति दिँदा गौरीफन्टा नाका हुँदै लम्की पुगेका थिए। उनी लम्कीमै क्वारेन्टाइनमा बसेका थिए।

प्रकाशित मिति: : 2020-04-05 21:07:59

प्रतिकृया दिनुहोस्