भारतमा कोरोनाविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउन दीप प्रज्वलन

बिएल संवाददाता

मुम्बई,बिएल हिन्दी ब्यूराे

भारतमा आइतबार राति ९ बजे ९ मिनेटमा दिप प्रज्वलन गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि दिप प्रज्वलन गरिएको हो। 

प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहोस् भन्दै बत्ती निभाएर दिप प्रज्वलन गर्न देशबासीलाई अपिल गरेका थिए।

उनको आह्वानप्रति ऐक्यवद्धता जनाउँदै देशवासीले बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेका थिए।

प्रधानमन्त्री मोदीले समेत दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।

भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १२ औँ दिन हो।

कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। भारतको मुम्बई शहरमा कोरोना भाइरस महामारीको ‘इपिसेन्टर’ बनेको छ। आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ संक्रमित देखिएको छ। याेसँगै यहाँ ४ सय ३३ जना संक्रमित फेला परेका छन्। यता ३० जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन्।

भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन्।

योसँगै देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ। यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन्। देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन्।
 

प्रकाशित मिति: : 2020-04-05 22:31:04

प्रतिकृया दिनुहोस्