को होला राष्ट्रबैंकको गभर्नर ? यस्तो छ निकटता र योग्यता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि वरिष्ठ  डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका मुख्य कार्यकारी महाप्रसाद अधिकारीको नाम सिफारिश भएको छ। 

अर्थमन्त्री युवराज खतिवडा संयोजक रहेको सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टरार्ई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेका रहेका थिए। अब मन्त्रिपरिषद् बैठकले उक्त तीन जनामध्येबाट एक जनालाई गभर्नर नियुक्त गर्नेछ।

सिफारिश गरिएका तीन जनामध्ये नेपालको को गभर्नर होलान्, अनुमान गर्न सजिलो छैन। डेपुटी गभर्नर शिवाकोटी हाल राष्ट्र बैंकमै कामु गभर्नर रहेका छन्। झापा विर्तामोडका स्थायी बासिन्दा उनी ३२ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। तीन जनाको नाम सिफारिश गर्दा एक जना डेपुटी गभर्नर अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था छ। उनी राष्ट्रबैंकका वरिष्ठ डेपुटी गभर्नर हुन्।

नेपाल राष्ट्रबैंक ऐनअनुसार, गभर्नर सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट २ जना छान्नुपर्छ। राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट कम्तिमा एक जना छान्नुपर्ने कानुनी व्यवस्था छ। 

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाका गृहजिल्लाबासी हुन्– शिवाकोटी। उनलाई यसअघि नेकपा एमालेकै पालामा डेपुटी गभर्नर बनाइएको थियो। पछिल्लो समय गमर्भर नियुक्तिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीकै हालबाट बालुवाटारमा ‘आर्थिक समृद्धि’ नामक पुस्तक विमोचन गराएका थिए। 

गभर्नरका अर्का उम्मेद्वार महाप्रसाद अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन्। १० अर्बभन्दा बढी लागतका सबै ठूला आयोजनाको स्वीकृति दिने जिम्मेवारी पाएको बोर्डको नेतृत्व गरिरहेका उनी राष्ट्रबैंकका पूर्वडेपुटी गभर्नर हुन्। उनी यसअघि चिरञ्जिवी नेपाल गभर्नर हुँदा पनि गभर्नरका लागि सिफारिश भएका थिए।

अधिकारीलाई लगानी बोर्डको सिईओ बनाउने सिफारिश समितिमा पनि वर्तमान अर्थमन्त्री डा खतिवडा सदस्य थिए। उनी २०७३ साल असारमा लगाी बोर्डमा नियुक्त भएका थिए। एमाले सरकारको अर्थमन्त्री विष्णु पौडेल थिए भने खतिवडा योजना आयोगका उपाध्यक्ष। 

अहिलेका अर्थमन्त्री डा. खतिवडा गभर्नर छँदा डेपुटी गभर्नर रहेर काम गरेका अधिकारीले त्यसबेला खतिवडाको अत्यन्तनिकट सहयोगी भएर काम गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट अधिकारी वित्त क्षेत्रका कुशल प्रशासक मानिन्छन्। खोटाङ सिम्पानीमा जन्मेका उनले ललितपुरको नमूना मच्छिन्द्र क्याम्पसबाट आईकम र नेपाल कमर्श क्याम्पसबाट बीकम गरेका थिए। उनले सीए चाहिँ भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्सबाट सन् १९९३ मा पूरा गरेका थिए। 

अर्का उम्मेद्वार अर्थ सचिव राजन खनाल केही समयअघि मात्र अर्थसचिवबाट अवकाश पाएका प्रशासक हुन्। काभ्रे, नमोबुद्ध नगरपालिकाका स्थायी बासिन्दा उनले अत्यन्त सरल, इमान्दार र व्यवस्थित प्रशासकको छबि बनाएका छन्। 

डा. खतिवडा अर्थमन्त्री भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयमा लगिएका थिए– खनाल। ५२ वर्षीय पूर्वसचिव खनालले व्यावसायिक प्रशासनमा एमबीए गरेका उनले ०७३ सालमा महेन्द्र संस्कृत विश्व विद्यालयबाट ‘नेपालको कर नीति’ मा पीएचडी गरेका छन्। उनी खतिवडासँग अत्यन्त निकट मानिन्छन्। 

राष्ट्रबैंक देशको कन्द्रीय बैंक भएकाले यसले बैंकहरूको पनि बैंकका रुपमा काम गर्छ। देशको वित्त क्षेत्रको नियन्त्रण गर्छ। मौद्रिक नीति बनाउने जिम्मा पनि राष्ट्रबैंकको हुन्छ। नेपाली रुपैयाँ हस्ताक्षर गर्ने गभर्नर राजनीतिक नियुक्ति पाउने पदमध्ये सबैभन्दा महत्वपूर्ण र शक्तिशाली मानिन्छ।आगामी पाँच वर्षका लागि देशको वित्त क्षेत्रको नेतृत्व गर्ने यो पदमा तीन जनामध्ये को नियुक्त होलान्, अहिले नै अनुमान गर्नु छिटो हुनेछ। 


 

प्रकाशित मिति: : 2020-04-06 15:58:06

प्रतिकृया दिनुहोस्