महाप्रसाद अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर

बिएल संवाददाता

काठमाडाै‌ं

 सरकारले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

अधिकारी ०७३ असारदखि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी राष्ट्रबैंकका पूर्वडेपुटी गभर्नर हुन्। उनी यसअघि चिरञ्जिवी नेपाल गभर्नर हुँदा पनि गभर्नरका लागि सिफारिश भएका थिए।

अहिलेका अर्थमन्त्री डा. खतिवडा गभर्नर छँदा डेपुटी गभर्नर रहेर काम गरेका अधिकारीले त्यसबेला खतिवडाको अत्यन्तनिकट सहयोगी भएर काम गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट अधिकारी वित्त क्षेत्रका कुशल प्रशासक मानिन्छन्।

खोटाङ सिम्पानीमा जन्मेका उनले ललितपुरको नमूना मच्छिन्द्र क्याम्पसबाट आईकम र नेपाल कमर्श क्याम्पसबाट बीकम गरेका थिए। उनले सीए चाहिँ भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्सबाट सन् १९९३ मा पूरा गरेका थिए।

अर्थमन्त्री युवराज खतिवडा संयोजक र पूर्वगभर्नर विजयनाथ भट्टरार्ई तथा पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको सिफारिश समितिले डेपुटीगभर्नर चिन्तामणि शिवाकोटी, अधिकारी र पूर्व अर्थसचिव राजन खनालको नाम सिफारिश गरेको थियो ।

प्रकाशित मिति: : 2020-04-06 16:22:31

प्रतिकृया दिनुहोस्