प्रधानमन्त्री ओलीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। 

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो। तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो। त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको थियो, जुन २५ गते १२ बजेसम्म रहनेछ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्बाएको हो।

प्रकाशित मिति: : 2020-04-07 08:42:51

प्रतिकृया दिनुहोस्