नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन्।

सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका छन् । उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ। उनले कामको शिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

कोरोना भाइरस जो कसैलाई पनि लाग्न सक्ने भन्दै नेता नेपालले कसैलाई यसको शङ्का लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। “विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उनीहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपिल गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति: : 2020-04-07 08:44:43

प्रतिकृया दिनुहोस्