मलेसियामा एक जना नेपालीलाई मात्र कोरोना सङ्क्रमण भएको छ: उदयराज पाण्डे, राजदूत (अडियोसहित)

मलेसियाका लागि नेपाली राजदूत हुन्, उदयराज पाण्डे । करिब सात लाख नेपाली श्रमिकले काम गरिरहेका छन्, मलेसियामा । त्यहाँ करिब चार हजार जनामा नोवेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म कोरोना सङ्क्रमणका कारण ६३ जनाको मृत्यु भएको छ । नेपाली भने एक जनालाई मात्र सङ्क्रमण भएको र उनी पनि निको हुँदै गएको राजदूत पाण्डेले जानकारी दिए । 

विश्वव्यापी महामारीले अहिले संसारका धेरै देश लकडाउन छन् । मलेसियामा पनि त्यहाँको सरकारले तीनका लागि लकडाउन घोषणा गरेको छ, जुन अप्रिल १४ तारेखसम्म जारी छ ।

एक वर्षअघि उनी मलेसियाको राजदूत नियुक्त भएका थिए । त्यसअघि उनले पाँच वर्ष साउदी अरेवियाका लागि नेपाली राजदूत भएर काम गरेको अनुभव पनि छ । राजदूत हुनुअघि उनी परराष्ट्रमन्त्री र गृहमन्त्रीका सल्लाहकार भएर पनि काम गरेका थिए ।

उनी पञ्चायतकालमै एमालेको भगिनी सङ्गठन– अनेरास्ववियूको महासचिव भएका थिए । युवा संघको महासचिव र पछि अध्यक्ष भएर काम गरिसकेका ५९ वर्षीय उनी पछिल्लो एक दशक कूटनीतिक जिम्मेवारीमा छन् । कोरोना भाइरसको महामारीपछि मलेसियामा कार्यरत नेपालीको अवस्थामा केन्द्रित भएर राजदूत पाण्डेसँग बिएल नेपाली सेवाका लागि माधव ढुङ्गेलले गरेको संवाद:

कोरोना भाइरस सङ्क्रमण फैलिएपछि मलेसियाको अवस्था कस्तो छ ?

ठीकै छ । दैनिक सयदेखि दुई सय जनाको बीचमा नयाँ सङ्क्रमण देखिएको छ । सङ्क्रमणअनुसार त्यति धेरै मृत्यु भएको चाहिँ छैन । लगभग सङ्क्रमणको पाँच प्रतिशतजस्तो मात्र छ– मृत्युदर।

यहाँको सरकारले तीन सातादेखि लकडाउन गरेको छ । अहिलेसम्म लकडाउन चलिरहेको छ– तेस्रो हप्तामा । अहिले १४ तारिखसम्म घोषणा भएको छ । अरु सामान्य नै छ ।

नेपालीमा खासै सङ्क्रमण देखिएको छैन । एक जना नेपालीमा देखिएको छ । उनको पनि अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यस्थितिमा सुधार भइरहेको छ ।

दूतावासले नियमित काम गरिरहेको छ ?

हामीले दूतावासको काम गर्ने समय पनि घटाएका छौँ । बिहान १० देखि १ बजेसम्म मात्र दूतावासले काम गर्छ । अरु हामीले हटलाइन टेलिफोनहरू दिएका छौँ– २४ घण्टे । त्यस्तै, हाम्रो ‘फेसबुक लाइभ’ र वेवसाइटबाट जानकारी गराइरहेका छौँ ।

उद्योग व्यवसाय, कलकारखाना सबै ठप्प भएपछि नेपाली श्रमिकको अवस्था कस्तो छ ? कसरी बसिरहेका छन् ?

अत्यावश्यक सेवामा काम गर्नेबाहेक अरुहरुको चाहिँ काम बन्द छ। अत्यावश्यक सेवामा काम गर्नेको भने काम जारी छ । जुन नेपाली ‘सेक्युरिटी सेक्टर’ (सुरक्षा) को काममा छन्, उनीहरू ड्यूटीमै छन् । ‘क्लिनिङ’ (सरसफाइ), स्वास्थ्यसम्बन्धी सामान उत्पादन गर्ने कम्पनीहरूमा काम चलिरहेको छ । अरु बाँकीमा काम बन्द छ । उनीहरू आ–आफ्नो होस्टेलमा छन् ।

अहिलेसम्म त्यहाँ कार्यरत नेपालीलाई खान, बस्न समस्या भएको खबर दूतावाससम्म आइपुगेका छन् कि छैनन् ?

अहिलेसम्म त्यस्तो सुनिएको छैन । केही–केही चाहिँ यो बीचमा कम्पनीबाट ‘चेकआउट मेमो’ लिएर प्लेनको टिकट काटिसकेकाहरूको उडान नभएका कारण रोकिएका छन् । उनीहरूको लागि हामीले के गर्ने भन्ने कुरा आइरहेको छ । अहिलेसम्म त्यस्ता पनि अधिकांशको त कम्पनीले नै खान–बस्न दिइरहेको छ । 

मलेसिया सरकारले नेपाली कामदार फिर्ता पठाउनेबारे दूतावासलाई केही भनेको त छैन ?

अहिले त कामदार फिर्ता पठाउने कुरै छैन । यहाँ त पूरै ‘मुभमेन्ट’ (हिँड्डुल) बन्द छ– अप्रिल १४ सम्म । त्यसअघि त फिर्ता पठाउने भन्ने प्रश्नै आउँदैन ।

फिर्तै पठाउने कुरा भए पनि नेपाल सरकारले बाहिरबाट फर्कनेलाई प्रवेश निषेध गरेको छ । यो अवस्थामा त फिर्ताको कुरै होइन।

अहिले त जो जहाँ छ, हिँड्डुल नगरी त्यहीँ बस्ने हो । मलेसिया सरकारले पनि टेलिफोन नम्बरहरू दिएको छ । कोही बिरामी भयो भने त्यो नम्बरका सम्पर्क गर्यो भने एम्बुलेन्स आउँछ । हस्पिटल लगेर उपचार गर्छ ।

अहिलेको अवस्थामा सरकारले उपचार निःशुल्क गरेको छ– स्वदेशी, विदेशी सबैलाई । त्यसैले अहिले फर्काउने विषयमा कुनै कुराकानी छैन ।

अप्ठेरो पर्यो भनेर दूतावासको सम्पर्कमा आउने चाहिँ कत्तिको छन् ?

आइरहेका छन् । त्यसबाहेक दूतावासले अनलाइनमार्फत् पनि एउटा फर्म राखिदिएका छौँ । ज–जसलाई घर जानुपर्नेछ, कहिले जाने हो, कहिलेको टिकट छ ? भर्नू भनेर हामीले माग गरिरहेका छौँ । यो–यो मितिमा जानुपर्ने भन्ने हामीलाई छ–सात सयले पठाएका छन् ।

कसैलाई समस्या छ भने हाम्रो चौबीसै घण्टा हटलाइनमा सम्पर्क गर्न भनेका छौँ । समस्या हुनेहरूले आफ्ना कुरा बताइरहेका छन् ।

कोरोना भाइरसको महामारीले विश्वमै सङ्कट लम्बिने देखिँदै छ । योसँगै त्यहाँ नेपाली कामदारको समस्या पनि अवश्य बढ्दै जान्छ । त्यसका लागि नेपाली दूतावासकोे पूर्वतयारी के छ ?

यो हप्ता त हामीले हेर्नै पर्‍यो । मलेसियामा कोरोना निको हुने पनि अलिकति बढेको छ । ३७–३८ सयमा सङ्क्रमण देखिए पनि १२–१३ सय निको भएर घर गइसकेका छन् । यो अप्रिल १४ पछि चाहिँ नयाँ सङ्क्रमण अलिकति घट्छ कि भन्ने अनुमान गरिँदैछ ।

मलेसियामा रहेका नेपालीलाई राजदूतका हिसाबले केही भन्नुहुन्छ ?

हामीले उहाँहरूका लागि भिडियो सन्देश पनि जारी गरेका छौँ । वेवसाइटबाट अरु सूचना पनि जारी गरेका छौँ । हाम्रो भनाइ के छ भने अहिले जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित बस्ने हो ।

हामीले उहाँहरूलाई सकेसम्म सुरक्षित भएर आ–आफ्नो ठाउँमा बस्न भनेका छौँ । ह्याण्ड स्यानेटाइजर, मास्क प्रयोग गर्न भनेका छौँ । अर्को व्यक्तिसँग कम्तिमा एक मिटरको दूरी कायम राख्ने, सकेसम्म हिँड्डुल कम गर्ने सल्लाह पनि दिइरहेका छौँ । म अहिले पनि त्यही भन्छु ।

 यो पनि हेर्नुहोस् 

प्रकाशित मिति: : 2020-04-08 07:26:00

प्रतिकृया दिनुहोस्