बिएल संवाददाता
कोरोना भाइरस (कोभिड–१९) का कारण यति बेला विश्व नै त्रसित छ । अधिकांश देश भाइरसबाट संक्रमित बनिरहेका छन् । भाइरसबाट हजारौंले ज्यान गुमाएका छन् भने लाखौं संक्रमित छन्। दिनानुदिन संक्रमणको संख्या बढिरहेको छ। पढाई र रोजगारीको सिलसिलामा आफ्नो देश छाडेर विदेशिएका नेपाली संक्रमणले झनै त्रसिद बनेका छन्। उनीहरु विभिन्न देशमा ‘लकडाउन’ को अवस्थामा बसिरहेका छन्। हाल अष्ट्रेलियामा रहेका नेपालीको अवस्था, सम्भावित जोखिमबाट बचाउन भइरहेका प्रयासबारे नेपाली राजदुत महेशराज दाहालसँग बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानीः
कोरोना भाइरसका कारण अष्ट्रेलियाको समग्र अवस्था के छ?
विश्वभरी फैलिरहेको महामारी कोरोनाको असर अष्ट्रेलियामा पनि छ । यहाँ पनि ‘लकडाउन’ को अवस्था छ। बाहिर २ जना मात्रै हिड्न मिल्छ । सपिङ मल र मेडिकल संस्थाहरू खुलेका छन् । केही रेष्टुरेन्ट पनि खुल्ला छन् । तर, त्यहाँबाट सामानहरु लिन पाइन्छ, बसेर खान भने पाइदैन । अष्ट्रेलिया सरकार यसको नियन्त्रणका लागि सक्रिय रुपमा लागिरहेको छ । यहाँको सरकारले विभिन्न तवरबाट जनतालाई सचेत गराइरहेको छ ।
नेपालीको अवस्था कस्तो छ?
अहिलेसम्म यहाँ रहेका नेपालीमध्ये ८ जनामा संक्रमण देखिएको छ। तस्मेनियामा एक, सिड्नीमा ४ र मेलबर्नमा ३ नेपाली संक्रमित छन्। यसमध्ये एकजना निको भएर फर्किसक्नु भएको छ। बाँकी आइसोलेसनमा हुनुहुन्छ । अवस्था सुधारोन्मुख छ। चाँडै उहाँहरु पनि ठिक हुनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
नेपालीका गुनासो दुतावासले कसरी सम्बोधन गर्दैछ ?
हामी सबैलाई सचेत बस्न आग्रह गरिरहेका छौं । सबै नेपाली समुदायलाई सुरक्षित भएर बस्न, आफ्नो स्वास्थ्यमा विशेष ध्यानदिन आग्रह गरिरहेका छौं । हाम्रो वेभसाइट र फेसबुक पेजमार्फत सम्पूर्ण नेपाली समुदायलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं। त्यस्ता सूचनामार्फत सुरक्षित रहनका लागि अपनाउनुपर्ने र ध्यान दिनपर्ने कुरामा सचेत गराइरहेका छौं ।
पछिल्लो समय त्यहाँको सरकारले आफ्नो देशमा सुरक्षित महसुस हुन्छ भने जान सक्नुहुन्छ भन्ने जुन अभिव्यक्ति दिएको छ । त्यसको प्रभाव के छ नेपाली समुदायमा ?
यहाँको सरकारले तुरुन्तै जानुपर्छ भन्ने आशयले भनेको होइन। त्यसको त्यति ठूलो नकारात्मक प्रभाव यहाँ परेको छैन । खास समस्या भनेको केही नयाँ विद्यार्थीलाई समस्या छन् । विशेषगरी भर्खरै आएका जसले काम गर्दै आफ्नो कलेज शुल्क तिर्न शुरु गरेका थिए । उनीहरुलाई कलेज शुल्कको समस्या, घर भाडा लगायतका आर्थिक समस्या देखिएका छन् ।
त्यस्ता विद्यार्थीको बिजोग नै छ भन्ने सुनिन्छ, त्यहाँ दुतावासमा कस्ता गुनासा आइरहेका छन्?
त्यस्तो बिजोग नै त होइन । तर, यहाँ काम नै बन्द भएकाले काम गरेर पढ्ने र दैनिकी चलाउने नेपाली विद्यार्थीलाई समस्या चाहीँ छ । यो समस्या अलि लामो समयसम्म गयो भने अवस्था बिग्रिन सक्छ। त्यसकारण हामी यस्तो परिस्थितिसँग जुध्न तयारी अवस्थामा रहनुपर्छ । त्यसका लागि यहाँका संघसंस्थासँग सहकार्य तथा समन्वय गरिरहेका छौं ।
त्यस्ता समस्यामा परेका नेपाली विद्यार्थी कतिको संख्यामा होलान्, केही तथ्यांक छ ?
अहिले यहाँ जम्मा डेढ लाखको हाराहारीमा नेपाली छन् । यसमध्ये ६० हजारभन्दा बढी विद्यार्थी छन् । केही नेपाली समुदाय र विद्यार्थी यहाँ टुरिष्ट भिसामा पनि हुनुहुन्छ। तर समस्यामा परेकाको ठ्याक्कै डाटा भने हामीसँग उपलब्ध छैन। तर, हामीले फारम बनाएर पठाएका छौं । त्यो फारम भरिएपछि तथ्यांक आउँछ ।
ती नेपाली विद्यार्थीको समस्या समाधानका लागि दुतावासले के गरिरहेको छ ?
त्यस्तो समस्यामा परेका विद्यार्थीले दुतावासलाई जानकारी गराउनुभएको छ। हामी त्यो कुरामा सचेत छौं । यहाँको एनआरएनदेखि विभिन्न संस्थासँग कसरी समस्या समाधान गर्न सकिन्छ भनेर छलफल अगाडी बढाएका छौं। हाम्रा विद्यार्थीका लागि शिक्षामा खासगरी विश्वविद्यालयमा शुल्कको समस्या छ। त्यसका लागि यहि सहयोग हुनसक्छ कि भनेर अस्ट्रेलियन सरकारसँग समन्वय गर्न खोजिरहेका छौं। यहाँका विश्वविद्यालयसँग पनि कुरा गरेका छौं ।
एनआरएनको नेतृत्वमा दुतावास संरक्षक भएर समिति बनाएर राहत पुर्याउने काम गरिरहेका छौं । यहाँको शिक्षा, स्वास्थ्य, समाज कल्याण, परराष्ट्रदेखि लिएर नेपाल–अष्ट्रेलिया पार्लामेन्ट्री फोरमका सांसलाई पनि पत्राचार गरेका छौं। अष्ट्रेलियन सरकारले हाम्रो कुरा सुन्नेछ भन्नेमा हामी विश्वस्त छौं । हरेक दिन त्यस्ता विद्यार्थीसँग कुराकानी गरिरहेका छौं । उहाँहरुलाई सचेत गराइरहेका छौं । विद्यार्थी पनि सचेत नै छन् ।
समस्यामा परेका सबै विद्यार्थीसँग निरन्तर सम्पर्क कसरी भइरहेको छ ?
हामीसँग हटलाइन नम्बर छन्। हाम्रो वेभसाइट र फेसबुकमा ती हटलाइन नम्बर दिइरहेका छौं । यहाँ रहेका नेपाली अलि सचेत र शिक्षित भएकाले आफै पनि दुतावाससँग सम्पर्क गरिरहेका हुन्छन् । त्यसकारण निरन्तर फोन आइरहने हुँदा दुतावासका कर्मचारी गुनासा सुन्ने र सम्भावित जोखिमबारे जानकारी गराइरहेका छन् ।
यो समस्या लामो समय गयो भने आउन सक्ने अप्ठ्याराका लागि तयारी के भइरहेको छ ?
खासगरी यहाँका विभिन्न नेपालसँग सम्बन्धित संघसंस्था र शिक्षण संस्थासँग कुरा गरिरहेका छौं । भविष्यमा पर्न सक्ने समस्याको अनुमान गरेर योजना बनाइरहेका छौं । त्यसका लागि सबैभन्दा ठूलो कुरा ‘फण्ड’ हो। त्यो यहाँको एनआरआएन र अन्य नेपालीसँग सम्बन्धित संस्थाले जुटाइरहेका छन् । सकेसम्म त यहाँको सरकारसँगै समन्वय गर्न पाए हुन्थ्यो भनेर त्यतातिर लागिरहेका छौं ।
अनि हामीले युनिभर्सिटीलाई आग्रह गरिरहेका छौं–शुल्क केही महिना पछाडि तिर्नुपर्ने र केही छुट दिनसक्ने व्यवस्था मिलाउन। यहाँको सरकारले आफ्नो नागरिक र आफ्नो स्थायीवासिन्दाको लागि स्वभाविक ढंगले योजना बनाइरहेको छ । योसंँगै विद्यार्थी तथा ज्यालादारी मानिसका लागि योजना पनि बनाइरहेको छ । यसमा नेपालीका लागि पनि केही योजना आउने छन् भन्नेमा हामी विश्वस्त छौं । भविष्यमा पर्नसक्ने बढी जोखिबाट बाच्न के गर्न सकिन्छ भने दुतावास मात्रै होइन, हाम्रो परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालयलाई पनि जानकारी गराइरहेका छौं । यहाँ अन्य संघसंस्थालाई पनि आग्रह गरिरहेका छौं । र, हामी पनि सम्भावित जोखिमबाट बच्न तयार अवस्थामा बसिरहेका छौं ।
अहिले त्यहाँ आफ्नै समस्या छ । यस्तो बेला नेपालीमा संक्रमण बढी देखियो र त्यहाँको सरकारले खासै प्राथमिकता दिएन भने त्यस्तो बेलामा के गर्न सकिएला ?
यहाँका स्वास्थ्य संस्थाले प्राथमिकता दिँदैन भन्ने त कुरै आउँदैन । बिरामी हुँदा हस्पिटलले नै हेरचाह गर्छ । त्यस्तो बेलामा हामी पनि सम्पर्कमै हुन्छौं । किनभने हामीले संक्रमणको शंका लागेमा वा लक्षण देखिए तत्काल जानकारी गराउन भनेका छौं । त्यस्तो समस्या केही गरी देखिएमा हामी आफै पनि समन्वय गर्छौं । त्यस्तो असुविधा हुँदैन।
अन्त्यमा, त्यहाँका नेपाली समुदायलाई के भन्नुहुन्छ ?
यो संसारको महासंकट हो । यो मानव सभ्यतामा एउटा ठूलो संकटको रूपमा देखा परेको छ । यो महासंकटलाई हामी आफैले जित्नु छ । त्यसैले सबैले आफूलाई सुरक्षित राख्न अपनाउनुपर्ने कुरा सबै अपनाऔं। आफ्नो मनोबल उच्च राखौं । एकले अर्कालाई सकारात्मक र रचनात्मक रुपमा सहयोग गरौं । हामी क्वारेन्टाइनमा रहँदा व्यक्तिगत रुपमा रहे पनि भावनाहरु सामुहिक रुपमा साँटासाँट गरौं । सबै एकअर्काका साथमा रहेको भावना एकअर्कामा जगाऔं । आफ्नो जिम्मेवारी लिएर संयमित बनौं भन्ने सन्देश दिन चाहन्छु ।
यो पनि हेर्नुहोस्
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया