कतारमा गाह्राे परेका नेपालीलाई स्थिति अलि सहज भएपछि घर पठाउँछाैं: नारद भारद्वाज, नेपाली राजदूत  (अडियाे अन्तर्वार्ता)

मनीषा अवस्थी

काठमाडाैं

कोरोना भाइरस (कोभिड १९) का कारण यति बेला विश्वमै त्रास फैलिएको छ। लगभग २ सय ५ राष्ट्र कोरोनाको संक्रमणबाट प्रभावित बनिरहेका छन् भने लगभग ६० हजारको हाराहारीमा मानिसहरूले ज्यान गुमाएका छन्। संक्रमितहरूको संख्या दिनहुँ बढ्नुले मानव जीवनमै चुनौति थपिएको छ। 

विश्वका अन्य देश जस्तै नेपाल पनि कोरोनाको संक्रमणले प्रभावित छ। देशभित्र हालसम्म ९ जना संक्रमित देखिएका छन्। नेपालमा हालसम्म कसैले ज्यान नगुमाए पनि विदेशमा भने नेपालीको ज्यान गइसकेको छ। अमेरिका र बेलायतमा नेपालीले ज्यान गुमाएका छन्। 

 

नेपालमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपालीको संख्या ठूलो छ। यस क्षेत्रमा पनि थुप्रै नेपालीमा भाइरस संक्रमण भेटिएको छ। कोरोनाका कारण देश ‘लकडाउन’ को अवस्थामा छ। यस्तो अवस्थामा खाडीमा रोजगारीका लागि गएका नेपाली पनि उच्च जोखिममा छन्। नेपालीको अवस्थालाई लिएर कतारका राजदुत नारदनाथ भारद्वाज वाग्लेसँग बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानीः 

कोरोना भाइरसका कारण कतारको समग्र अवस्था कस्तो छ? 

कतारको अवस्था यति बेला चिन्ताजनक नै छ। तर स्थिर छ। यहाँ बिहीबारसम्म ७ सय भन्दा केही बढी मानिस संक्रमित भएका छन्। एक कतारी र एक बंगलादेशी गरेर २ जनाको मृत्यु भइसकेको छ। यहाँको ठूलो औद्योगिक क्षेत्र सनैयामा मात्र संक्रमण बढी देखिएको छ। त्यही क्षेत्रलाई ‘लकडाउन’ गरिएको छ। यहाँ बाहेक बाहिरी समुदायमा फैलिएको छैन। कतारी सरकारले नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको छ।  नेपाली पनि केही संक्रमित छन्।  तर, कति संक्रमित छन् यहाँको सरकारले हामीलाई तथ्यांक उपलब्ध गराएको छैन। त्यसैले थाहा हुन सकेको छैन। संक्रमित सबै नेपाली युवा भएको जानकारी आएको छ तर स्थिति भने गम्भीर छैन। 

दुतावासको सम्पर्कमा नेपाली छन् कि छैनन् ?

नेपालीहरु सम्पर्कमा आइरहेका छन्। अहिलेसम्म सम्पर्कमा आएकाहरू औषधी उपचार अथवा संक्रमित नभई, कतिपय नेपाली रोजगारदाताबाट बिदा लिएर हिँडिसकेका तर घर फर्किन नसकेर अलपत्र परेकाको गुनासो आइरहेका छन्। उनीहरूलाई खानबस्नको समस्या भइरहेको छ।  

अलपत्र परेका नेपालीका गुनासो दुतावासले कसरी सम्बोधन गर्दैछ ? 

दुतावासले सहजीकरणको भुमिका खेल्ने हो। त्यसमा हामीले यहाँको गैरआवासीय नेपाली संघ एनआरएन र अन्य नेपाली समुदायका संगठनसँग समन्वय गरेर अलपत्र परेका नेपालीलाई सहयोग गरिरहेका छौं। संक्रमणको समाचार आइरहँदा र वरिपरिका देशमा संक्रमण बढिरहँदा पनि यहाँ धेरै डराएका थिएनन्। यो स्थितिको परिकल्पना पनि गरिएको थिएन। त्यसकारण पहिला घर जाने खासै तयारी गरेका थिएनन्। तर, जब यहाँ पनि ‘लकडाउन’ को स्थिति आयो, त्यसपछि कसरी घर जाने भनेर हाम्रो सम्पर्कमा आइरहेका छन्।  उनीहरुलाई हामीले ‘अहिले जहाँ छौ, त्यही सुरक्षित बस’ स्थिति अलि सहज भएपछि आवश्यक सहजीकरण गरेर घर पठाउँछौं भनिरहेका छौं। 

अहिले संसारभरी त्रास र परिवारसँगको दुरीका कारण कतिपय नेपाली गम्भीर तनावमा छन्। त्यस्ता व्यक्तिलाई आवश्यक परामर्श दिने काम गरिरहनु भएको छ ?

गत १० मार्चमा जब यहाँको सरकारले पहिलोपल्ट एशियाका १० देशका कामदार आयात गर्ने देशसँग हवाई प्रतिबन्ध गर्यो। त्यति बेलादेखि नै हामीले सतर्कतासम्बन्धि सामग्रीहरु प्रकाशित गरिरहेका छौं। अहिलेसम्म ७ वटा सूचना प्रकाशित भइसक्यो। यसबीचमा एउटा भिडियो म्यासेज पनि दिएर सबैमाझ पुर्याउने प्रयास भयो। यहाँ ओलिभ रेडियो छ, भारतीय समुदायको। त्यसमा पनि सूचना प्रसारण गर्यौं। सूचनामा हामीले पटक पटक मनोसामाजिक समस्याको सामना गर्नका निम्ति आग्रह गरिरहेका छौं। हामीले नेपाली जनसमुदायलाई घरपरिवारसँग निरन्तर सम्पर्कमा रहने, नजिकका साथीसँग आफ्ना समस्या शेयर गर्ने र आवश्यक पर्दा दुतावाससँग सम्पर्कमा बस्ने उपाय पनि सुझाइरहेका छौं। तर, दुतावाससँग त्यस्तो आफ्नै किसिमको मनोसामाजिक परामर्शदाता उपलब्ध नभएकाले त्यो हिसाबले भने गर्न सकेका छैनौं। 

अहिले कुन क्षेत्रमा कति नेपाली छन्, उनीहरु अवस्था कस्तो छ? 

पछिल्लो तीन महिनायता यहाँको सरकारी तथ्यांक अनुसार ३ लाख ५१ हजार नेपाली कतारमा छन्। यहाँ विभिन्न क्षेत्रमा छरिएका निर्माण स्थलमा नेपाली छरिएर बसेका छन्। उनीहरुका आफ्ना आवासस्थल छन्। ती ठाउँमा नेपाली रहेको हुँदा कति नेपाली कहाँ बस्छन्, त्यसको तथ्यांक भने छैन। सबैभन्दा ठूलो औद्योगिक क्षेत्र सनैया जुन ‘लकडाउन’ छ। त्यहाँको १ नम्बरदेखि ३२ नम्बर सडक, त्यो करिब १० किलोमिटर लम्बाई–चौडाईको क्षेत्र पर्छ। त्यहाँ डेढदेखि २ लाख नेपाली हुन सक्छन्। 

नेपालीको आवासको अवस्था कतिको सुरक्षित छ, केही बुझिएको छ? 

हामीले त्यस्ता आवास क्षेत्र भिजिट गर्ने अधिकार हुँदैन। हेर्छौं भनेर अनुरोध गर्यौं भने सरकारले बनाएका केही सिमिति क्षेत्रमा देखाइने गरिन्छ। एउटा अर्को देशको अनुमति विपरित हामीले आफूखुशी काम गर्नु बुद्धिमानी पनि हुँदैन। त्यसकारण हामीले अन्य स्रोतबाटै अवस्थाबारे जानकारी लिइरहेका हुन्छौं। हामीलाई जानकारी भएअनुसार कतिपय त्यस्ता आवास क्षेत्र नेपालीबाटै पनि सञ्चालित छन्।  उनीहरुबाट पनि हामीले जानकारी लिइरहेका हुन्छौं। त्यसरी जानकारी भएअनुसार आवासगृहमा एउटै हलमा ८–१० जना मानिस राखिन्छ भन्ने हामीले सुनेका छौं। त्यस्तो हुँदा डब्लुएचओको सुरक्षाको महत्वपूर्ण उपाय दुरी कायम गरिएको छ जस्तो मलाई लाग्दैन। तर संक्रमणको जोखिमका कारण सम्भव भएजति केही सुधार गरिएको छ भन्ने हामीले सुनेका छौं। भीडभाड गर्ने कुरामा नियन्त्रण गरिएको पनि हामीले सुनेका छौं। 

दुतावाससँग नेपाल सरकारले कसरी समन्वय गरिरहेको छ ?

नेपाल सरकारले हामीसँग निरन्तर यहाँको अपडेट मागिरहेको छ।  परराष्ट्र मन्त्रालयलाई हामी निरन्तर यहाँको स्थितिबारे जानकारी गराइरहेका छौं। त्यसैअनुसार सरकारले आवश्यक निर्देशन पठाउँछ  । भविष्यमा पर्न आउने जोखिमको प्रक्षेपण गर्न पनि सरकारले भनिरहेका छ र त्यसको नियन्त्रणका लागि गर्न सकिने समाधानका उपाय पनि पहिल्याएर बस्न भनेर भनिरहेको छ। भविष्यमा भयावह अवस्था सृजना भएमा, यहाँ नै अस्तव्यस्त भएमा नेपालीहरूको आश्रयका लागि दुतावासले बेग्लै आवास क्षेत्र अथवा संरक्षण स्थल निर्माण गर्नुपर्ने हुनसक्छ। अहिले खानपिनको व्यवस्था यहाँको सरकारले नै गरिरहेको छ।  त्यस्तो अवस्था सृजना भएमा हामी आफैले गर्नुपर्ने हुनसक्छ भन्ने कुरा ख्याल गर्दै पूर्वतयारी र आकस्मिक योजना निर्माण गर्नका लागि हामीले पनि आवश्यक सल्लाह सरकारलाई दिइरहेका छौं।  

कतारमा बस्ने नेपालीलाई के भन्न चाहनुहुन्छ?

अहिले यहाँ बसेका नेपाली दाजुभाई र दिदीबहिनीले धैर्यता र संयमता अपनाउन जरुरी छ। यो विपत्तिको घडीमा सारा संसार समस्यामा छ। संसारभरका मानिसले नियन्त्रित जिन्दगी बितारहेका छन्। हामीले पनि यो नियन्त्रण तथा बन्दाबन्दीलाई स्वीकार गर्नुपर्छ। हामी अनुशासित हुन जरुरी छ। फेरि पनि हामी उठ्नु छ। काम गर्नु छ। मानव जिवनको भविष्य फेरी पनि छ। त्यसका लागि हामी आशावादी भएर तयार भएर बस्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु। 

प्रकाशित मिति: : 2020-04-05 19:31:00

प्रतिकृया दिनुहोस्