अमेरिकी मतदाताले देखाए ट्रम्पलाई 'रातो', बाइडनलाई 'हरियो' झण्डा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा गरिएको एक पछिल्लो मत सर्भेक्षणमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन्। सीएनएनका लागि एसएसआरएसले मार्च महिनामा गरेको  राष्ट्रव्यापि मत सर्भेक्षणमा रजिष्टर्ड मतदातामध्ये ४२ प्रतिशतले मात्र ट्रम्पलाई मत दिने बताए। जबकि, ५३ प्रतिशत मतदाताले जो बाइडनलाई मतदान गर्ने जनाए। 

मत सर्भेक्षमा कोरोना भाइरस, मध्यम वर्गीय हित र हेल्थ केयरजस्ता विषयहरूमा ट्रम्पभन्दा बाइडनले सही सम्बोधन गर्ने बताइयो । तर, आर्थिक मुद्दामा भने बाइडनभन्दा ट्रम्प नै सही हुने मत सर्भेक्षणमा सहभागीको मत रह्यो।

पार्टीगत मतमा भने डोनल्ड ट्रम्पलाई ९६ प्रतिशत रिपब्लिकनको साथ दिँदा बाइनलाई ९१ प्रतिशत डेमोक्रेटको मात्र समर्थन रहने देखिएको छ। तर, इन्डिपेन्डेन्ट मतदातामध्ये ५२प्रतिशतले बाइडनलाई मत दिने बताउँदा ट्रम्पका लागि यस्ता मतदाताको संख्या ४० प्रतिशत मात्र देखियो ।

यो मत सर्भेक्षणले राज्य र इलेक्ट्रोल कलेजको प्रतिनिधित्व नगर्ने भएकाले यसैका आधारमा मात्र अमेरिकाको ४६औं राष्ट्रपति को हुने हो भन्न सकिन्न । तर, यसको प्रभाव राज्य र  इलेक्ट्रोल कलेजमा पनि पर्ने भएकाले यसले अगाडि रहेको उम्मेद्वारको पक्षमा माहौल बनाउन सहयोग गर्छ। 

जे होस्, अमेरिकी जनताको मुड ट्रम्पको विपरित दिशातिर गैरहेको संकेत यो मत सर्भेक्षणले देखाएको छ। यसबाट बाइनलाई मनोवैज्ञानिक लाभ प्राप्त हुने छ भने राष्ट्रपति ट्रम्पको आक्रोशको पारो बढ्ने छ। 

प्रकाशित मिति: : 2020-04-10 03:22:53

प्रतिकृया दिनुहोस्