बेलायतमा १०१ वर्षीय बृद्धले जिते काेराेनाविरुद्धकाे लडाईं

बेलायतमा १ सय १ वर्षीय एक हजुरबुवाले कोरोना भाइरसविरूद्धको लडाईंमा विजय प्राप्त गरेका छन्। विश्वव्यापी रूपमा ९२ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो भाइरसविरूद्ध दुई सातादेखि लडिरहेका केथ वाट्सन बेलायतको वर्सेस्टरसायरस्थित रेडिचको अलेक्जेन्डर अस्पतालमा उपचारार्थ थिए। उनलाई बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो। 

केथ कोरोना भाइरस संक्रमणबाट बाच्ने बेलायतका पहिलो पाका व्यक्ति हुन्। बेलायतमा हाल करिब ८ हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। 

केथले कोरोनाविरूद्धको लडाईंमा विजय प्राप्त गरेपछि उनको फोटो अस्पतालले आफ्नो फेसबुक तथा अन्य सोसल मिडिया साइटमा अपलोड गरेको छ। र, भनिएको छ, ‘उनी केथ हुन्, जसको उमेर १ सय १ वर्ष छ। उनी आज घर फर्किदैछन् कोरोना भाइरसलाई जितेर।’

केथ अस्पतालको वार्ड नम्बर १२ मा भर्ना भएका थिए। केथका पनाति बेन्जामिन वाट्सनले अस्पतालको ब्लग सेयर गर्दै लेखेका छन्, ‘उल्लेखनीय हजुरबुवा, जसलाई १ सय १ वर्षमा कोरोना भाइरसको संक्रमण भएको थियो, यसलाई हराएका छन्।’

कोरोना भाइरसले सबैभन्दा बढी बृद्धबृद्धालाई प्रभावित पारिरहेको बेला केथको लडाईंले चिकित्सकहरूलाई पनि उत्साहित तुल्याएको छ। कोरोना भाइरसको लडाईंमा विजय प्राप्त गर्ने विश्वकै पाका उमेरका बिरामी नेदरल्याण्ड्सकी कोर्नेलिया राइस हुन्।

उनले १ सय ७ वर्षको उमेरमा कोरोनाविरूद्धको युद्ध जितेकी थिइन। उनले बिरामी अवस्थामै आफ्नो जन्मदिन मनाएकी थिइन। उनलाई मार्च १७ मा अस्पताल भर्ना गरिएको थियो। यस्तै, अमेरिकाका बिल लाप्सेसले १ सय ४ वर्षको उमेरमा कोरोनालाई चक्मा दिएका थिए। चीनका चाङ गुङफेन पनि १ सय ३ वर्षको उमेरमा जोगिएकी थिइन। 

बेलायतमा यसअघि ९९ वर्षीय बृद्धा रिटा रेमण्ड्सले कोभिड–१९ लाई जितेकी थिइन।  
 

प्रकाशित मिति: : 2020-04-10 06:35:38

प्रतिकृया दिनुहोस्