लकडाउनको समयमा ‘बान्नीकी चैतली’ मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जना जरिवाना तिरेर छुटे

लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका छबिसपाथीभेरा गाउँपालिकाका चारजना वडाध्यक्षसहित नौजनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ।

लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष  विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का  अध्यक्ष अम्मरराज थापालाईउनीहरुसँग जनही ९ हजार  एक सय जरिवाना तिराएर छाडिएको प्रजिअ उमेश पाण्डेले बताए। 

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएपनि मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार जरिवाना तिराएर छाडिएको प्रजिअ पाण्डेले जानकारी दिए।

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का  अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो। उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन्।

उनीहरुसँगै पक्राउ परेका बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समितिका कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी, डम्बरबहादुर धामी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

लकडाउनको समयमा चैत २४ गते बझाङमा  बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो।

सरकारको निर्णयविरुद्ध मेला  सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो।


 

प्रकाशित मिति: : 2020-04-10 09:36:38

प्रतिकृया दिनुहोस्