अब कोरोना संक्रमण रोक्न के गर्नुपर्छ कर्णाली प्रदेशले ?

विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस कर्णाली प्रदेशमा पनि फैलिने डर भएपछि प्रदेश तथा स्थानीय सरकारले कोरोना संक्रमण रोगथामका विभिन्न क्रियाकलाप गर्दै आइरहेको देखिन्छ। 

कर्णालीमा कोरोनाको संक्रमण देखिएको खण्डमा प्राथमिकता तथा भूगोलका आधारमा संयन्त्र काठमाडौं मैत्री हुने कुरा सहजै आंकलन गर्न सकिन्छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतमा प्रदेश अस्पतालको अवस्था ठिकठाक भए पनि अन्य जिल्लाकाे हकमा कोरोनासँग लड्न सक्ने तयारी कम भएको देख्न सकिन्छ। साँच्चिकै कोरोना संक्रमण कर्णालीमा देखिए स्थिति भयाभह हुने कुरामा दुईमत छैन। तर यसाे भनेर आत्मसमर्पण गर्नु पनि उचित हुन्न। बरु जोगिने उपाय अबलम्बन गर्नु सबैभन्दा उत्तम हो। 

जुम्लामा यहि चैत्र २५ गते बिहान ९ बजे हेलिकप्टरबाट आएका स्वास्थ्यकर्मीकाे राेहवरमा भारत तथा तेस्रो मुलुकबाट आएका तथा क्वारेन्टाइनमा बसेकाको स्वाब लिने कार्य भयो। यसलाई प्रदेश सरकार तथा स्थानीय सरोकारवालाले गरेको राम्रो प्रयासका रुपमा लिनु उचित हुन्छ। कर्णालीका सम्पूर्ण जिल्लामा यही प्रकृतिको कार्य पनि भइरहेको छ। हुन नसकेका ठाउँमा अविलम्ब सुरु गर्दा झन् राम्राे हुने देखिन्छ। अहिलेसम्म सुखद संयोग नै मान्नुपर्छ– हालसम्म यस क्षेत्रमा संक्रमण देखिएको छैन। 

प्रदेशका सम्पूर्ण जिल्ला सकेसम्म सम्भावित सबैको स्वाब लिने कार्य सम्पन्न भइसकेपछि संक्रमण भेटिएकाे खण्डमा संक्रमितको ट्राभल हिस्ट्री संकलन गर्दै थप कडाईका साथ कोरोना परीक्षण तथा उपचार गर्नु राम्राे हुनेछ। यसमा पनि परीक्षणको जिम्मा प्रदेश तथा स्थानीय सरकारले लिने र उपचारको जिम्मा प्रदेश अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले लिदा काम प्रभावकारी बन्ने कुरामा दुईमत नहाेला।

यति बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति तथा पूर्वाधार सुविधाको सदूपयोग समग्र कर्णाली प्रदेशले लिन सक्ने अवस्था देखिन्छ। यदि संक्रमण नदेखिएको खण्डमा कोरोना संक्रमण आउला र उपचार गरौंला भनि कुरेर बस्दा अवस्था अझ भयाभह हुने देखिएकाले संक्रमण नहुँदै कर्णाली प्रदेशले तल उल्लेखित कुरामा विशेषा ध्यान दिनु जरुरी छ। 

१) कर्णाली प्रदेशका सम्पूर्ण जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका मानिस र कोरोनाको शंका लागेका मानिसको जतिसक्दो चाँडो स्वाब परीक्षण गर्ने। 

२) प्रदेश छिर्ने नाकाबाट मानिसको आवतजावत ठप्प बनाउने।यदी अत्यावश्यक कार्य भई प्रदेशमा छिर्नै पर्ने भएको खण्डमा र्‍यापिड टेस्ट गराई मात्र छिर्न दिने। 

३) प्रदेश अस्पताल, सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको परीक्षण केन्द्रको स्थापना गर्ने। 

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति तथा पूर्वाधारको भरपुर प्रयोग गर्ने। 

५) प्रदेशका अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्यकर्मीको संयूक्त टोली बनाई प्रदेशका सम्पूर्ण जिल्लामा खटाउने। 

६) प्रदेशभरि भएका सम्पूर्ण स्थानीय तहमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीले कम्यूनिटीमा जनचेतना कार्यक्रम संचालन गर्ने तथा शंका लागेका मानिसलाई यथाशिघ्र क्वारेन्टाइनको व्यवस्था गरि राख्ने र परीक्षणको लागि खटाइएका स्वास्थ्यकर्मीलाई सुचना दिने। सुचना भएका सम्पूर्ण मानिसको स्वाब संकलन गरि परीक्षणको व्यवस्था मिलाउने। 

७) कोरानाको उपचार तथा परीक्षणमा लागेका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्तरीय पीपीई सेट तथा अन्य सामाग्रीको प्रदेश सरकारले यथाशिघ्र व्यवस्थापन गर्नुपर्ने। 

८) स्वास्थ्यकर्मीको मनोवल गिराउने कार्य गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्ने। 

९) पास लिई प्रदेशबाहिर आवतजावत भइरहेको हुँदा त्यसलाई कडाईका साथ बन्द गर्नुपर्ने। 


 

प्रकाशित मिति: : 2020-04-17 15:18:00

प्रतिकृया दिनुहोस्