तावाबाट उम्केर भुंग्रोमा परेका मजदुर

केशवशरण लामिछाने

आमा अर्कैसँग गएपछि बाबुले अर्की आमा ल्याए। साना भाइबैनी छन्, आफ्नै उमेर पनि १७ पुग्दै छ। दाङको शान्तिनगर गाउँपालिका दुबीचौरका दीपक केसी आठ कक्षाको जाँच सकेर दुई÷चार पैसा कमाउने सपना बोकेर कास्की आएका थिए।

टाढाको नातामा ठूलोबुबा पर्ने यज्ञराज बुढाथोकीको साथ लागेर उनी कास्कीको मादी गाउँपालिका आएको महिना दिनअघि हो। ठूलोबुवाले मादी नागी गाउँमा खानेपानीको काममा आफूसँगै उनलाई पनि लगाए। अरूले पाइप बिच्छ्याउने नाली खन्दा झाडी फाँड्नेलगायत काममा दीपकले सघाए। बिहान बेलुका खाना पनि पकाए।

काम गर्दागर्दै १५ दिन पनि भएको थिएन, कोरोना भाइरस फैलिएको हल्लासँगै लकडाउन भएको खबर दीपकले सुने। खनेको कुलोमा बिच्छ्याउने पाइप आइपुगेन। सबैको काम रोकियो। गाउँपालिकाको वडाले मजदुरलाई राहत बाँड्यो। उनीहरूले पनि पाए। ७ जनाले १५ दिन त्यही राहतको दाल चामल खाएर छाक टारे। बास बस्न गाउँकै आमा समूहको भवन छँदै थियो। राहतको दालचामल सकियो। ठेकेदारले गाउँकै किराना पसलबाट उधारो खान भन्दिए। केही दिन गुजारा पनि चल्यो। त्यही किराना पसल पनि रित्तियो। मजदुर टोलीले वडाध्यक्षलाई फोन गर्‍यो। अर्काे खेप राहत नआएको उत्तर आयो।

प्रकाशित मिति: : 2020-04-22 07:47:08

प्रतिकृया दिनुहोस्