आईजीपी खनाल, सांसद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दर्ता भएन

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी परिसर, काठमाडौंले जनता समाजवादी पार्टी नेपालका सांसद् सुरेन्द्र यादव अपहरण गरेको भन्दै उजुरी दिन गएका नेताहरुलाई फर्काएको छ।

आइतबार दिउँसो  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरुलाई उजुरी दर्ता नगराइ फर्काइएको हो। 

आफ्ना पार्टीका सांसद अपहरण गरिएको भन्दै दिइएको उजुरी लिन नमानेपछि पार्टीका नेता डा. भट्टराईले सरकारले कानुनी राज्य र नागरिकको जीवन रक्षा गर्ने सम्बन्धमा प्रश्न उठाएका छन् ।

उनले भनेका छन्,‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

घटना महोत्तरी जिल्लाको भएको भन्दै काठमाडौंका एसपी र डीएसपीले उजुरीका लागि महोत्तरी नै जानका लागि भनेका छन् । यता,पार्टीका नेताहरु भने काठमाडौंमा नै उजुरी दिने अडान लिइरहेका छन् ।

ऐनमा जाहेरी लिने भन्ने प्रष्ट व्यवस्था भएपनि डेढ घण्टा भइसक्दा पनि जाहोरी नलिएको जनता समाजवादीका नेता केशव झाले बताए । 

 

प्रकाशित मिति: : 2020-04-26 16:49:06

प्रतिकृया दिनुहोस्