वीरगञ्जमा संक्रमितको सम्पर्कमा आएका ३३ को थ्रोट स्वाबको नमुना संकलन

बिमला गुप्ता

काठमाडाै‌ं

वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।

वीरगञ्ज महानगरपालिका ३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार संक्रमण पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो।

पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

‘पहिलो चरणमा वडा नं ३ छपकैयाका संक्रमितको परिवारका सदस्य ७ जना, वडाका जनप्रतिनिधिसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ,’ उनले भने, ‘संक्रमणको पुष्टि भए लगत्तै परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो।’ 

वीरगञ्ज–१६ का संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भइसकेको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताए।

उनले साँझसम्म स्वास्थ्यकर्मीहरुले थ्रोट स्वाबको नमुना संकलन गरेको र बाँकी कामलाई सोमबार पनि निरन्तरता दिइरहेको बताए।

पर्सामा हाल सर्लाहीका एक सहित तीन जना संक्रमित वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेशनमा छन्। हिजो मात्रै एक नेपाली सहित ४ जना डिस्चार्ज भएका थिए।

प्रकाशित मिति: : 2020-04-27 13:39:10

प्रतिकृया दिनुहोस्