डेढ महिनापछि खुल्यो बैतडी र दार्चुला नाका(फाेटाे फिचर)

 
दार्चुला र बैतडीका सीमा पारी डेढ महिनादेखि शरणार्थी जीवन बिताइरहेका मजदुर नेपालीलाई नेपाल भित्र्याउने तयारी बिहीबार बिहानदेखि सुरु भएको छ।

दार्चुलाको ठिक पारी  भारतको धार्चुलाको जोलजीवीसम्मका ५ वटा क्याम्पमा १ हजार ५, पश्चिम उत्तरी भारतको प्रमुख शहर पिथौरागढ र बैतडीको सीमा बजार जुलाघाटसम्म ६ सय गरि अन्दाजी १६ सय नेपाली मजदुर भारतमा डेढ महिनादेखि फसेका थिए। 

बैतडीको नाका झुलाघाट पुगेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बिएल नेपाली सेवालाई भने,‘हामीले नाका खोलेर नेपाली लाई भित्र्याउन सुरु गरेका छौ। पिथौरागढदेखि झुलाघाटको पारी भारतको क्वारेण्टाइनमा बसेका अन्दाजी ६ सय नेपाली आज नाकाबाट नेपाल प्रवेश गर्ने अनुमान गरेका छौं।’  

दार्चुलाको खलंगामा र दत्तु नाकाका दुवैतर्फ बिहानैदेखि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सीमापुल खोल्न तयारी अवस्थामा बसेका  थिए। बिहिबार बिहान ९ बजे खलंगा र दत्तु नाका एकैचोटी खुलेपछि एक–एक गरि नेपाली भित्रिरहेको स्थानीय भोजराज जोशीले बताए। उनीहरुको नेपालतर्फ स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ।

गृहसचिव महेश्वर न्याैपानेको निर्देशनमा स्थानीय प्रशासनले सीमावर्ती भारतीय प्रशासनसँग आन्तरिक समन्वय गरि भारतमा फसेका नेपालीलाई  स्वदेश ल्याउन लागिएको हो। गत चैत २५ मै सर्वोच्च अदालतले सीमा फसेका नेपालीलाई स्वदेश ल्याउन आदेश दिए पनि गृहको आदेश र दुवै देशका अन्तर्राष्ट्रिय सीमा लकडाउनमा भएको सहमतिका कारण एक महिना देखि भारतका क्याम्पमा नेपालीहरु शरणार्थी जीवन बाच्न बाध्य थिए।

लक डाउनका कारण दुवै देशका नाका सील गर्ने सहमति बनेपछि भारतमा फसेका मजदुर वर्गलाई भारतले आफ्नै भुमिमा व्यवस्थापन गरेको थियो। नेपाली मजदुर वर्गले आफूलाई कोरोना संक्रमण नभएको भारतीय स्वास्थ्यकर्मीले प्रमाणित गरे पनि आफ्नै देश पस्न नपाएकोमा व्यापक रोष थियो। भारतको पिथौागढ जिल्ला अन्तर्गत बैतडी र दार्चुलाका १० वटा परम्परागत नाका रहेका छन्।

घर पुग्ने तनावमा बुधबार मात्रै  धार्चुलाको मिनि स्टेडियममा रहेका दार्चुलाको मालिकार्जुन गाउँपालिकाका गोपालसिंह धामीले उर्लदो महाकालीमा हाम फालेपछि उनलाई  भारतीय सुरक्षाकर्मीले बचाएका थिए।

बुधबार नै सदरमुकाम खलंगाबाट पश्चिम उत्तर एक दिन पैदल दुरीमा रहेको माल्पाबाट दार्चुलाकै ८ जनाले महाकाली तरेर नेपाल प्रवेश गरेका थिए। सदरमुकामबाट प्रवेश नदिइरहेको थाह पाएपछि उनीहरु जंगलको बाटो हुँदै माल्पा पुगेका थिए। सबैलाई अहिले सदरमुकाममै क्वारेन्टाइनमा राखिएको छ। लकडाउनयता दार्चुलामा मात्रै ३ सय ४६ जनाले यसरी ज्यान जोखिममा राखेर स्वदेश पुगेका छन्।

यस ठाउँकाे नाका गत चैत १५ देखि बन्द थियाे।

प्रकाशित मिति: : 2020-04-30 09:38:19

प्रतिकृया दिनुहोस्