एमसीसी लिनुहुँदैन : कार्यदल

रामकृष्ण अधिकारी

कोरोना भाइरसका कारण मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी, आन्तरिक लगानी, रेमिट्यान्समा उल्लेखनीय गिरावट र द्विपक्षीय वा बहुपक्षीय ऋण तथा अनुदान नआउने निश्चित भइरहेका बेला सत्तारुढ नेकपाद्वारा गठित कार्यदलले भने ५७ अर्ब रुपैयाँको अमेरिकी सहयोग (एमसीसी) लिन नहुने प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवारीबाट विमुख बनाउन लागिपरेका नेता सम्मिलित कार्यदलले नेकपाभित्रको द्वन्द्व उत्कर्षमा पुगेका बेला उक्त प्रतिवेदन बाहिरिएको हो। नेकपा केन्द्रीय समितिले गठन गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यदलले ‘यथास्थितिमा संसद्बाट एमसीसी अनुमोदन गर्न नहुने’ निष्कर्षसहितको प्रतिवेदन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई बुझाएको थियो।

एमसीसी द्विपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष कार्यदलले निकालेको छ। उसले नेपाल सरकार र एमसीसीबीचको सम्झौता र नेपालको कानुनको अन्तरसम्बन्धबारे सम्झौतामा उल्लेख गरिएका कतिपय व्यवस्था अन्योल उत्पन्न गर्ने किसिमको भएको र त्रुटिपूर्ण रहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-05-02 08:40:48

प्रतिकृया दिनुहोस्