आँखामा चाेट लाग्दा तीनदिन आइसोलेसनमा भर्ना, उपचारमा ढिलाइ हुँदा गुम्याे ज्योति

दीप सुवेदी

विराटनगर

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा  यू-१६ महिला टिमकी सदस्यको आँखाको ज्योति गुमेको छ। 

आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका ५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो।

बुवा दलबहादुरका अनुसार बारीमा सिमल तरुल खन्ने क्रममा वैशाख १२ गते उनको आँखामा चोट लागेको थियो। चोट लागेको बेला त्यति समस्या नभएनपछि उनलाई भोलिपल्ट नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो। रामपुर ठोक्सिला स्वास्थ्य चौकीले आँखाको नानीमा चोट रहेको भन्दै थप उपचारका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदियो।

‘यहाँ कोरोना भाइरस संक्रमणको आशंकामा तीनदिन आइसोलेसनमा राखिदिएपछि छोरीको चोट लागेको आँखाको उपचार समयमा हुन पाएन। बिरामीलाई ज्वरो आएको भनेर कोरोना भाइरस संक्रमणको आशंका गर्दै आँखाको उपचार गर्न मानेनन्,’ उनले भने।

त्यसपछि चिकित्सकले नमुना संकलन गरेर परीक्षणका लागि लिएर गएकाे र तीन दिनपछि कोरोना रिपोर्ट नेगेटिभ आएकाे उनले बताए। प्रतिष्ठानले आँखाको नानीमा समस्या रहेको जनाउँदै त्यसपछि  विराटनगरको विराटनगर आँखा अस्पतालमा वैशाख १८ गते बिहीबार रेफर गरिदिएको किशोरीका बुवा दलबहादुरले बताए।

प्रतिष्ठानले उपचारका लागि पठाउँदा आँखामा चोट लागेकै ६ दिन वितिसकेको थियो। सुधार हुनुपर्ने आँखामा समस्या थपिँदै गयो। 

समिक्षाको दाजु सनम मगरले भने, ‘बहिनीको आँखा जचाउनका लागि त्यहाँ तीनदिन आइसोलेसनमा राख्नुले नै परिस्थिती जटिल हुन पुग्यो। तत्कालै प्रतिष्ठानले विराटनगर रेफर गरेका भए बहिनीको आँखाको इन्फेक्सन कम हुनसक्थ्यो। ’कोरोना रिपोर्ट नेगेटिभ आएको कागज बोकेर जब समीक्षालाई आँखाको उपचार गराउन विराटनगर आँखा अस्पताल पुर्‍याइयो, तब अस्पतालले चिकित्सकले दृष्टि गुमिसकेको जानकारी गराएका छन्। उपचारमा संलग्न चिकित्सक विवेक आचार्यले आँखाको  नानीमा नराम्ररी चोट लागेको र उपचारमा ढिलाई हुँदा दृष्टि गुमेको जानकारी दिए।

उनले भने, ‘उपचारमा ढिलाई भएकै कारण दृष्टि फर्कने सम्भावना लगभग सकिएको छ। आँखाको नानीमा चोट लाग्दा जति सक्दो छिटो उपचार गर्नुपर्ने ठाउँमा चोट लागेको एक सातापछि मात्रै उपचार सुरु भएको देखिन्छ।’ 

डा.आचार्यले आँखाको नानी जोगाउन गाह्रो रहेको अवस्थामा अझै पनि उपचार गरेर गुमेको ज्योति फर्काउनका लागि परिवारका सदस्यसँग छलफल गरेर धेरै प्रयास भइरहेको जानकारी दिए। 

स्थानीय लिटिल स्टार स्कुलको कक्षा ८ मा अध्यनरत समीक्षा फुटबल खेलाडी हुन्। स्थानीय तहदेखि काठमाडौंमा आयोजित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी छन्।

समीक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले व्‍यहोर्ने

मोरङ–अखिल नेपाल फुटबल संघ एन्फाले समिक्षाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ।

आइतबार विराटनगरस्थित विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसँगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन्।

एन्फाले शनिबार सुरुआतमा २५ हजार रुपैयाँ चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको जानकारी दिदैं प्रवक्ता राईले भने, ‘आँखाको उपचारका क्रममा लाग्ने सबै पाटो अब एन्फाले हेर्नेछ। युवा महिला खेलाडीलाई परेको दुःखमा एन्फा साथमा रहेको छ।’

शनिबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उनले बताए। 

यस्तै, नेपाली राष्ट्रिय पुरुष टिमले ३० हजार रुपैयाँ र १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली यू–२३ पुरुष टिमले १० हजार रुपैयाँ सहयोग गरिएको साग पुरुष टोलीका कप्तान तथा राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठले जानकारी गराए ।

यस्तै, मनाङले पनि समीक्षालाई ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । त्यसअघि शुक्रबार एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समीक्षालाई समान २५–२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । एन्फाले अहिले उपचारका लागि र पछि पनि सहयोग गर्ने शुक्रबारै बताएका थिए ।

प्रकाशित मिति: : 2020-05-04 12:09:47

प्रतिकृया दिनुहोस्