ओडारमा बस्दै पुग्यौँ, ४८ सयमा तिङ्करमा चौकी बनायौँ

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा ४८ वर्षअघि हतियारसहित जाने नेपाल प्रहरीका एक जना भूतपूर्व असई वीरबहादुर चन्द बैतडीमा भेटिनुभएको छ ।

२०२९ सालदेखि २०३१ सालसम्म कालापानीमा भारतीय पक्षको गतिविधि नियाल्न दार्चुलाको तिङ्करमा प्रहरी चेकपोस्ट निर्माण गरेर नियमित गस्ती गरेर सीमा रक्षाका लागि खटिनुभएका बैतडीको दशरथ चन्द नगरपालिका–४, का वीरबहादुर चन्द अहिले उमेरले ८१ वर्षको हुनुहुन्छ ।

कालापानी हेर्न तिङ्करमा प्रहरी चेकपोस्ट बनाएको प्रमाणसहित भेटिनुभएका चन्दसँग गोरखापत्रले गरेको कुराकानीः

तपाईले ४८ वर्षअघि नै कालापानी नजिकबाट नियाल्नुभएको छ । आज पनि समस्या उस्तै छ । कालापानीको बारेमा केही बताइदिनुहोस् न ?

भारतले अतिक्रमण गरेको नेपाली भूमि हो कालापानी । त्यसको प्रमाण मालपोत कार्यालय बैतडीबाट पनि लिन सकिन्छ । दार्चुला जिल्लाको मालपोत पहिले बैतडी मालपोतमा बुझाईन्थ्यो । भारतले मिचेका ठाउँको कर तिरेको मोठ बैतडी मालपोतमा अहिले पनि हेर्न सकिन्छ ।

४८ वर्षअघि हतियारसहित कसरी कालापानी पुग्नुभयो ?

तिङ्कर प्रहरी चेकपोस्टबाट छाङरु झरेर हाम्रो नियमित गस्ती हुन्थ्यो । भारतले मिचेको कालापानीमा ४८ वर्ष अघि हतियारसहित जाने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ ।

कालापानी हेर्ने जिम्मेवारी बोकेर कति वर्ष बस्नुभयो तिङ्करमा ? त्यहाँको वातावरण कस्तो थियो ? आवत जावत गर्न कुन बाटो प्रयोग गर्नुहुन्थ्यो ?

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उत्तर र दक्षिणतिरको नेपाली भूमि मिचेर बनेका चीन र भारतका सुरक्षा चौकी हटाएका थिए । तिङ्करमा भएको भारतीय प्रहरी चेकपोष्ट हटाएर त्यहाँ नेपाली सुरक्षा चौकी बनाउने कुरा थियो । त्यहाँ नेपाल प्रहरीको चेकपोष्ट स्थापना गर्न सरकारले त्यो बेला दुई हजार पाँचसय रुपियाँ बजेट दिएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यो बेला मेरो तलब ३०४ रुपियाँ थियो ।

तिङ्करमा प्रहरी चेकपोस्ट बनाएपछि भारतले आफूलाई निगरानीमा राखेको रहेछ । त्यसपछि भारतीय बाटो प्रयोग गर्न दिएन । तिङ्ककरमा बाह्रै महिना अत्यन्तै चिसो र हिँउ पर्ने ठाउँ हो । तल छाङरु पर्छ । चिसो छल्न अहिले पनि छाङरु आउने चलन छ ।

प्रकाशित मिति: : 2020-05-12 17:05:00

प्रतिकृया दिनुहोस्