कालापानी नजिकै सशस्त्र प्रहरी बलको बिओपी स्थापना (भिडियो)

श्याम भट्ट

दार्चुला

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार सशस्त्रको बिओपी (BOP) स्थापना कार्य दार्चुलामा कार्यान्वयनमा गएको छ।

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुन लागेको हो। गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्न लागेको हो।

व्यासको छाङ्गरुमा बिओपी स्थापनाका लागि टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापासमेत छन्।

बुधबार हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी बल ओर्लिएको हो। अहिलेलाई छाङ्गरूमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ९ जना खटिने भएका छन्।

कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि  दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरु तर्फ लागेका छन्।

उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन्।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो। व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन्। स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो।

भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो । अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था छ।

यसअघि व्यासको तिङ्करको छायालेक र छाङ्गरुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ ।

प्रकाशित मिति: : 2020-05-13 16:35:00

प्रतिकृया दिनुहोस्