भीमप्रसादको पीडा : न बंगुर बेच्‍न पाइयो, न ऋण तिर्न सकियो

भवानी अधिकारी

वालिङका बंगुरपालक भीमप्रसाद लुईंटेल आफ्नो फर्मभरी बढ्दै गरेका बंगुर र तिनीहरुका पाठापाठी हेर्दै चिन्तित हुन्छन्। उर्लदो व्यवसायमा कोरोना संक्रमणसँगै सरकारले गरेको लकडाउनको घोषणापछि देखिएको सुन्यताले उनलाई चिन्तित बनाएको हो। झण्डै ५२ दिन पुरा भएको लकडाउनका कारण उनले लाखौं रुपैयाँको ब्यापार घाटा भएको जनाएका छन्।

झण्डै ६ वर्षअघि वालिङ नगरपालिका-९ पिपलटारीमा इन्द्रेणी बंगुरपालन उद्योग प्रालि सुरु गरेका लुईंटेलको व्यवसाय राम्रो हुँदै गएपछि वालिङ-१० मदिखोलामा पनि शाखा बिस्तार गरे। अन्तत : उनी गण्डकी प्रदेशको नमूना बंगुर पालक बन्न सफल बने। मासिक करिब १० लाख भन्दा बढीको बराबरको कारोवार गर्ने उनको व्यवसायमा आएको मन्दीसँगै बंगुरलाई आवश्यकता अनुरुपको खाना खजाना खुवाउन नपाएको उनको दुखेसो छ। फर्ममा साना ठूलागरी ६ सय भन्दा बंगुर रहेको लुईंटेलले बताए। २ सय ५० वटा माउ बंगुर छन्। उनीहरुले मासिक २ देखि ३ सय भन्दा बढी पठापाठी जन्माउछन्। लकडाउनसँगै फर्ममा ३ सय ५० भन्दा बढी बेच्न तयार भएका पठापाठी थन्क्याएर राख्नु परेको लुईंटेलको गुनासो छ। समय पुगेका पाठापाठी बेच्न नपाउँदा आम्दानीको बाटो रोकिएको छ। दानाका लागि मासिक ३ लाख ५० हजार, कर्मचारी खर्च मासिक एक लाख ५० हजार र बैंकमा मासिक ३ लाख रुपैंयाको जोहो गर्न कठिन परेको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-05-13 19:07:47

प्रतिकृया दिनुहोस्