सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको नयाँ गीत ‘मुग्लानी छातीमा देश दुख्छ’ सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको नयाँ गीत ‘मुग्लानी छातीमा देश दुख्छ’ सार्वजनिक भएको छ। गीतकार देवकोटाको देशभक्ती गीतमा गायक तथा संगीतकार राज सागरको संगीत र स्वरमा रहेको ५। उक्त गीत यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

उद्धव सिलवाल प्रोडक्सनले बजारमा ल्याएको यस गीतमा देशको वर्तमान अवस्थालाई चित्रण गरेको छ। मुग्लानमा रहेको लाखौं नेपालीको पीडा, राजनीतिक कालखण्ड, गरिवी, बिभिन्न प्रकृतिक बिपत्ती, हत्या हिंसा बलत्कार लगायतका बिभिन्न बिबिध बिषयलाई उठान गरिएको यस गीतको संगीत संंयोजन संजीव बराईलीले गरेका हुन्। 

करिव एक दशकदेखि संचारकर्ममा रहेकी यस गीतकी गीतकार सुष्मा देवकाटा हाल अमेरिकाबाट संचालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकममा कार्यरत छिन्। कोरोना सन्त्रासको समय सार्वजनिक भएको यस गीतले नेपाल र नेपालीले भोग्दै आएका श्रृंखलाबद्ध घटना र विवसतालाई प्रस्तुत गरेको छ।  

आफैं सञ्चारकर्ममा रहेकाले उनले यो गीतमा एउटा पत्रकारको नजरमा अहिलेको नेपाललाई देखाएकी छिन्। 

पछिल्लो पुस्ताकी कवि तथा कथाकार देवकोटाले यसअघि ‘चोखो माया’ ‘तराना’, ‘रंगीयो तिजले’ लगायतका एल्वम निकालेकी छिन्। यस्तै ‘माई लभ’ चलचित्रमा समेत उनका गीतहरु समाविष्ट छन्।

यस्तै उनको ‘खोजिरहेछु’, ‘भेलबेटको चोली,’ ‘पिरती लाएको वर्ष’ लगायतका गीतहरु सार्वजनिक छन्। लामो समयदेखि गायक तथा संगीतकार राज सागरसँग सहकार्य गर्दै आएकी देवकोटा र राज सागरको यो गीत आठौं गीत हो।
 
राज सागर पछिल्लो दशकका लोकप्रिय युवा गजल गायक हुन्। दर्जनौं गीत र गजलमा संगीत र आवाज भरेको उनी बिशेषत साहित्यकर्ममा रहेकाहरुसँग सहकार्य गर्दै आएका संगीतकर्मी हुन्।
 

प्रकाशित मिति: : 2020-05-15 11:19:18

प्रतिकृया दिनुहोस्