असाधारण अवस्थाको बजेट

 

विनोद सिजापती

उच्च आर्थिक वृद्धिदर हासिल गर्दै सुखी र समृद्ध लक्ष्य प्राप्तिको सपना बाँड्दै गरेको सरकार खुम्चिएको अर्थतन्त्रको सामना गर्दैछ। धरातलमा मडारिँदै गरेको कालोबादलको आगमनले अर्थतन्त्रको आकार कति खुम्च्याउनेछ, ओरालोउन्मुख अर्थतन्त्र कति खस्कँदै जान्छ तथा कति अवधिपछि ‘बाउन्स ब्याक’ हुन्छ जस्ता विषयले सरकारको ध्यान आकृष्ट गर्न सकेको छैन। फितलो जगमा मौलाउँदै गएको अर्थतन्त्रलाई कोभिड–१९ महामारी घातक हुन सक्छ भन्ने ज्ञान सबैलाई थियो। महामारीको अनिष्ट प्रवेश रोक्ने तथा संक्रमितको पहिचान गरेर फैलावट रोक्न आवश्यक पूर्वतयारीलाई भाषण र कागजमा सीमित राखियो।

पूर्व तयारीका निमित्त उपलब्ध पाँच महिनाको अवधि सदुपयोग गर्न नसक्दा चिप्ले किराको गतिमा फैलँदै गरेको यो संक्रमण द्रुतगतिमा यहाँ फैलन थालेको स्पष्टै छ। विद्यमान महामारी फैलिएको यो गतिलाई नियाल्दा आउँदो तीन महिना राष्ट्रका निमित्त पीडादायी हुने संकेत देखिन्छ। विडम्बना संघीय संसद्मा अर्थमन्त्रीले वैशाख २२ का दिन प्रस्तुत गरेको ‘विनियोजन विधेयक २०७७’ तथा जेठ २ मा राष्ट्रपतिद्वारा प्रस्तुत ‘सरकारको नीति तथा कार्यक्रम’ ले आइपर्नसक्ने असाधारण परिस्थतिको कुनै परिकल्पना गरेको देखिँदैन। यिनै दस्ताबेजहरूको आधारमा आगामी बजेट तर्जुमा हँुदैछ भने त्यसले राष्ट्रका सामुन्ने आइपर्ने असामान्य परिस्थितिका चुनौती पनि सम्बोधन गर्न सक्दैन।

प्रकाशित मिति: : 2020-05-18 16:33:25

प्रतिकृया दिनुहोस्