नेपालमा रहेका भारतीय कामदार भन्छन्, घर फर्कन पाउँ

भारतमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काईरहेका बेला नेपालमा रहेका भारतीय कामदारले पनि आफूहरूलाई घर (भारत) फर्कने बातावरण बनाईदिन नेपाल भारत दुबै देसका सरकारसँग आग्रह गरेका छन्।

मिस्त्रि कामको सिलसिलामा धनुषाको ढल्केबरमा रहेका २६ जना भारतीय नागरिकले आफूहरुलाई घर फर्कने वातावरण बनाईदिन दुबै देशका सरकारलाई आग्रह गरेका हुन्।

पुरुलियास्थित रधुनाथपुर ठाना क्षेत्रमा पर्ने महोतरका २६ जना युवा गएको मंसिर महिनामा यहाँ काम गर्न आएका थिए। मिथिला नगरपालिका ७ ढल्केबरमा पर्ने नगरको पर्यटकीयस्थलको रुपमा नगरपालिकाले विकास गरिरहेको मिथिला तालको पर्खाल र प्रवेशद्वार निर्माण गर्न भन्दै यी भारतीयहरुलाई जनकपुरका ठेकेदार उमेश महतोले ल्याएका थिए ।

कोरोनाको सम्भावित संक्रमण रोक्न सुरु गरिएको लकडाउन बढेपछि उनीहरुले काम रोकेर नगरपालिकालाई घर पठाईदिन आग्रह गरेका थिए। नगरपालिकाले पनि जो जस सँग सम्बन्ध राख्छ भनेर सम्बोधन गरेर उनीहरु काम गर्न भारतबाट नेपाल आएको पुष्टि हुने निवेदन बनाईदिएको छ।

नगरपालिकाले लेटरप्याडमा दिएको उक्त निवेदनको आधारमा भारत फर्कन नपाउने भएपछि उनिहरुले सञ्चारकर्मी डाकेर दुबै देसका सरकारलाई आफ्नो घर (भारत) फर्काईदिन आग्रह गरे।

मेनेजर हरिचरण बाउरेले भने, ‘भारतमा रहेका नेपाली फर्कन थालेको समाचारबाट थाहा पायौं, कामदारका रुपमा नेपालमा रहेका हामी भारतीय नागरिकलाई भारत पठाउन दुबै देशको सरकारले पहल गरिदेओस्।’

मिथिला तालमा १० लाख रुपैयाँ बराबरको काम गरे पनि ठेकेदार उमेश महतोले ३ लाख रुपैयाँ मात्रै दिएको र बाँकी पैसा माग्दा बन्दमा कहाँबाट पैसा ल्याएर दिने भन्ने गरेको पीडित भागवत वाउरेले बताए।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले धनुषामा झण्डै ७ हजार भारतीय कामदार रहेको जानकारी दिए। निरौलाका अनुसार धनुषाका अधिकांश ईटा भट्टामा भारतीय कामदार छन्। त्यस्तै कालिगड, मिस्त्री र ज्यालामजदुरीमा पनि भारतीय छन्। ‘भारत सरकारले उनीहरुलाई लैजाने विषयमा खासै पहल गरेको छैन’, प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

वीरगञ्जस्थित महावाणिज्य दूतावासले नेपालमा रहेका भारतीय नागरिकलाई फर्काउने घोषणा अझै कार्यान्वयन नगरेको पनि प्रमुख जिल्ला अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-05-20 15:43:17

प्रतिकृया दिनुहोस्