वाग्मती प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

 वाग्मती प्रदेशले ‘कोभिड—१९’ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने भएको छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै बैंकहरुबाट न्यून ब्याजदरमा ऋण उपलब्ध गराइने बताए ।

प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गरिने उनले बताए ।

क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ ।

महिलाहरुको स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने, मिर्गौला रोगीहरुका लागि प्रत्येक जिल्ला अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने, प्रदेश मातहत रहेका आयुर्वेद केन्द्रलाई पञ्चकर्म र योगसेवासहित सुदृढ गर्ने नीति पनि प्रदेश सरकारको छ ।

हेटौंडा अस्पतालाई ३०० शय्याको अस्पतालमा स्तरोन्नति गर्नै, भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १०० शय्याको विशिष्टिकृत अस्पताल बनाउने, धादिङ र चौतारा अस्पतालाई ५० र रसुवा र रामेछाप अस्पताललाई २५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकीकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ ।

वागमती प्रदेशले बाँझो जमिनको प्रयोग गरी उत्पादनमा सहयोग पुर्‍याउन स्थानीय तहको समन्वयमा विशेष प्याकेज ल्याउने, दूध र दुग्धजन्य वस्तु उत्पादन गर्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

प्रदेश सरकारले विदेशबाट फर्किएका वा स्वदेशमा रहेका, कृषि र पशुपक्षी विषय अध्ययन गरी बेरोजगार बसेका युवाहरुलाई कृषि पेसामा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार कार्यक्रम सञ्चलन गर्ने नीति पनि  लिएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने मदन भण्डारी राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिने, पोष्टबहादुर बोगटी सुरुङमार्ग आयोजनालाई आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने, मुख्यमन्त्री सडक कार्यक्रमअन्तर्गत् लोकमार्ग, प्रदेश लोकमार्ग र जिल्ला सदरमुकामसम्म स्थानीय तहको केन्द्र जोड्ने सडकहरु वर्षभरि सञ्चालन हुनेगरी पाँच वर्षमा सम्पन्न गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा प्रदेश विश्वविद्यालय सञ्चालनका लागि कानुनी तथा संस्थागत संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, ‘वाग्मती प्रदेशको इच्छा, छोरी–बुहारीको उच्च शिक्षा’ भन्ने नारासहित प्रदेशमा स्थायी बसोबास भएका सामुदायिक र सरकारी क्याम्पसमा अध्ययनरत् छात्राहरुलाई चालू आर्थिक वर्षबाट सुरु गरिएको ‘छोरी–बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति: : 2020-05-26 17:20:59

प्रतिकृया दिनुहोस्