हाम्रो परनिर्भरता र स्वतन्त्र अस्तित्वको सवाल

रोम गणतन्त्रको छेवैमा सानो नुमान्टिया नामको सहर थियो। नुमान्टियनहरू सबै कुरामा पारङ्गत थिए। रोमन भन्दा कम थिएनन्। युद्वहरूमा पनि पराक्रमी थिए। आफ्नो भन्दा कयौं गुणा ठूलो संख्यामा रहेका रोमन मोर्चासँग युद्वमा पराजित गर्नसक्ने क्षमता थियो।

केही हजारको संख्यामा रहेका नुमान्टियनहरुले युद्वमा बिसौ हजार रोमनलाई पराजित मात्रै गरेका थिएनन् तिनीहरूलाई नियन्त्रणमासमेत लिन सफल भएका थिए।

उनीहरुको अदम्य साहस र रणकौशलताले रोमन दासताबाट आफ्नो सहर अलग र सुरक्षित राख्न सफल भएका थिए नुमान्टियनहरू।

झण्डै बीस वर्षदेखि चलेको द्वन्दले इसापूर्व १३४ मा रोम र नुमान्टिया बिच ठूलो रूप लियो। फलस्वरूप झण्डै ६ हजार जनसंख्या भएको सानो सहरी किल्ला नुमान्टिया घेर्न रोमले जनरल सिपिओको कमान्डमा बीस हजार लडाकु र चालीस हजार सहयोगी गरि करिब साठी हजार जनशक्ति परिचालन गर्‍यो।

तिनीहरूले नुमान्टिया सहरलाई घेरेर ठूला पर्खाल निर्माण गरे। उनीहरुको बाहिरी दुनियाँ सँगको सम्पर्क, सम्बन्ध र आउजाउ बिच्छेद गरियो।

नुमान्टियनहरुले तेह्र महिनासम्म त थेगे अन्त्यमा आत्मसपर्पण गरेर रोमन दासत्व स्वीकार्नुभन्दा आफ्नो  आत्मसम्मानको निमित्त सामुहिक आत्महत्या गरे। आफ्नो सुन्दर सहर आफैं आगो लगाएर भस्म पारे तर रोमन सामु अन्तिम समयमा पनि झुकेनन्।

उनीहरूको एक मात्रै पराजयको कारण थियो परनिर्भरता। नुमान्टियनहरूले युद्व कौशलतामा निपुर्ण हुँदाहुँदै नलडिएको युद्व हारे। आफ्नो अस्तित्व आफैं समाप्त पार्न पुगे। रोमले  पर्खाल बनाए पछिको एक वर्ष जेनतेन धाने। खाद्यान्न अभावमा त्यसपछि विकल्प या त आत्मसमर्पण र दासत्व स्वीकार या त आत्मसम्मान र मृत्यु रह्यो।

उनीहरुले आफूहरू रोमन दासत्व स्वीकार्ने कायर् नभएर  स्वतन्त्रता र आत्मसम्मानको लागि बलिदानी दिने वीरहरु रहेको देखाउन दोस्रो विकल्प रोजे। फलस्वरूप न त जीवन नै रह्यो न र बस्ती नै।

दु:खको कुरा उनीहरुको बिरता र स्वतन्त्रताको लागि जीवन बलिदानी दिने अदम्य साहसको इतिहास पनि तिनै नुमान्टियनहरूका बिरोधि रोमन इतिहासकारहरूले नुमान्टियनहरुको किल्टिकमा होइन आफ्नो ल्याटिन भाषामा लेखेर जोगाइदिए।

घटनाको झण्डै दुई हजार वर्ष पछि स्पेनिस स्वतन्त्रता आन्दोलनका अगुवा र अभियन्ताहरूले स्वतन्त्रता आन्दोलनको क्रममा आफ्नो स्वतन्त्रताका खातिर जीवन बलिदानी दिने पूर्वज नुमान्टियनलाई आफ्ना आदर्शका प्रतीक ठाने। उनीहरुलाई आफ्ना रोल मोडेल माने। र उनको अदम्य साहसको उच्च प्रसंसा गरे।

तर उनीहरुले पनि  नुमान्टियनहरूको प्रसंसा गर्न रोमनहरुकै ल्याटिन भाषा प्रयोग गरे र उनीहरुलाई पुज्न र पुकार गर्न रोमन क्याथोलिक चर्च नै छिरे।

ठूला र साम्राज्यवादी शक्तिहरूसँग जुध्न केवल साहस र रणकौशलताले मात्रै पुग्दैन यसको साथसाथै आत्मनिर्भरता पनि चाहिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन नुमान्टियनहरु।

दुई तिर भौगोलिक, र सामरिक रूपमा बलिया र एक अर्काका प्रतिस्पर्धीको रूपमा उदाइरहेका शक्तिहरुको बिचमा दुई ढुङ्गा बिचको तरूलको रुपमा अवस्थित हाम्रो मुलुकको दीर्घकालिन अस्तित्व जोगाउन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिब्योपदेशहरु हामीलाई नुमान्टियन हुनबाट जोगाउने अचुक अश्रहरू हुन्।

मुलुकको विशिष्ट भुपरिवेस्ठित भौगोलिक अबस्थिति र विविध आन्तरिक विविधता भएको हाम्रो जस्तो दुई ढुङ्गा बिचको तरूलरूपी मुलुक जोगाउन आत्मनिर्भरता एकमात्र औजार हो भन्ने कुरा पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए।

त्यसैले खेती हुने ठाउँको बस्ती सार्नु, जमिन बाझो नराख्नु, स्वदेशी उत्पादन उपभोग गर्नु, बाहिरी नक्कल नगर्नु, स्वदेशी उत्पादन बढाउन कुलो कुलेसो खन्नु र सीप भएका मान्छे झिकाइ आवश्यक तालिम दिनु, आफ्नो उत्पादन निर्यात गरेर बिदेशी मुद्रा खैचनु भन्दै आत्मनिर्भरताका लागि आवस्यक अनेकन सुझावहरू दिव्योपदेशको रूपमा दिएर गए।

उनले मुलुक निर्माण मात्रै गरेनन् आफूले दु:खले आर्जेको मुलुक जोगाउन भावी पुस्तालाई आवश्यक पर्ने मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय नीतिदेखि लिएर, युद्व रणकौशलता र अटुट देशभक्ति सम्मका दिव्योपदेश दिएर गए।

तर दु:खको कुरा आज हामीले तिनै मुलुक निर्माताको सालिकमा हथौड़ा प्रहार गर्नुमा अग्रगमन र तिनै मुलुक जोगाउने मन्त्रहरु जलाउनुमा क्रान्तिकारिता देख्यौं।

आज भारतबाटै आयात गरिएको अन्नमुलो खाएर भए पनि सामाजिक सञ्जालमा भारतीय नागरिकलाई ‘अङ्ग्रेजको हलि’ भनेर आफू स्वाभिमानी भएको कृत्रिम अभिनय गर्न मिल्ने यो स्टेज पनि तिनै पृथ्वीनारायण शाहले तयार गरिदिएका थिए भन्ने कुरा हामीमध्ये कतिपय क्रान्तिकारिले अझै बुझेका छैनौं वा कतै बुझेर पनि त्यसमा सामन्तवादको गन्ध भेटेर पिठ्यूँ फर्काइएका छौं।

केही दिन पहिले नेपाल सरकारले भारतको अतिक्रमणकारी र हेपाहा प्रवृत्तिको बिरोध गर्दै कालापानी, लिपुलेक समावेश नक्सा सार्वजनिक गरेसँगै कतिपय भारतीय सञ्चार माध्यम, सरकारी अधिकारी र सामाजिक ब्यक्तिहरूले तुच्छ अभिव्यक्ति दिँदै हाम्रो परनिर्भरतामाथि खिल्ली उडाइरहेका छन्।

भारतीय मिडियाहरूले, भारतले नेपालीलाई रोजगारी दिएको, भौतिक संरचना निर्माणमा सहयोग पुर्‍याएको, भारतीय कम्पनीहरूले नेपालको अर्थतन्त्र जोगाइ दिएको, नेपाली सेनालाई आफैंले तालिम र हतियार उपलब्ध गराइदिने गरेकोदेखि नेपालीको लागि खाद्य सामग्री र इन्धन आपूर्ति मात्रै होईन हाम्रो देशको वर्तमान शासन व्यवस्थासमेत आफैंले तय गरिदिएको सम्मका अभिव्यक्तिहरू दिँदै हाम्रो स्वाभिमान माथि निरन्तर प्रहार गरिरहेका छन्।

वास्तवमा हामीले पनि लाखौं भारतीयलाई नेपालमा रोजगारी र आश्रय नदिएका भने होइनौं।

नेपालमा बहुराष्ट्रिय कम्पनी खोल्नेदेखि गाउँघरमा कवाडी संकलन गरेर जीवन गुजारा चलाउने भारतीयसम्मको संख्या जोड्दा भारतमा रोजगारी गर्ने नेपालीको भन्दा कम संख्या पक्कै छैन नेपालमा भारतीयहरुको।

नेपाली दाजुभाइहरू त भारतमा रोजगारी गरेर र आफ्नो श्रम बेचेर बसेका छन तर हामीले नेपालमा परिश्रम नगरी सडकमा मागी खाने लाखौं भारतीयहरु पालेका छौं भनेर हामीले कहिल्यै उनीहरुको जस्तो मिडियाबाट कुर्लेनौं।

त्यति मात्र होइन, हाम्रै दाजुभाइले चीन र पाकिस्तानका सीमारेखा र नाकामा अदम्य साहसका साथ काँधमा राइफल बोकेर चौबीस घण्टे पहरा दिएकै कारण दिल्लीका महलमा तिमी चैनसाथ निदाउन पाएका छौ भनेर पनि हामीले कहिल्यै भनेनौं।

किनकि, हामी छिमेकीसँग मित्रता चाहन्छौं र आपसी भाइचारामा विश्वास गर्छौं। हामीलाई थाहा छ हामी बिच राजनीतिक सिमारेखाले अलग्याउन नसक्ने कतिपय धार्मिक, सामाजिक मूल्य मान्यता अनेक तहका सम्बन्धहरू छन्।

यद्यपि आधुनिक नेपालको पछिल्लो कालखण्डलाई  हेर्ने हो भने हामी क्रमिक रूपले आर्थिक, राजनीतिक मात्रै होइन सामाजिक र सुरक्षात्मक हिसाबले समेत परनिर्भर मात्रै होइन भारतमुखी बन्दै गइरहेका छौं।

आज देशको निर्यातभन्दा आयात दसौं गुणा वृद्धि भएको छ। वार्षिक दसौं खर्बको आयात गरिरहेको हाम्रो कृषिप्रधान मुलुकले बर्सेनि २ खर्ब भन्दा माथिको त खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु मात्रै आयात गरिरहेको छ, त्यो पनि भारतबाट।

भारतसँगको निर्भरता र व्यापार घाटा बढ्दो क्रममा रहेको छ । २०६२/६३ मा भारतसँगको व्यापार घाटा ६६ अर्ब रहेकोमा हाल करिब ८ खर्ब पुगेको छ। आयतको झण्डै साठी प्रतिशत त हामी भारतसँगै निर्भर रहेका छौं ।

नेपालमा भारतीय पक्षको प्रत्यक्ष लगानी दिनानुदिन बढिरहेको छ। २०४७ सालको परिवर्तनसँगै निजीकरणका नाउँमा पन्चायतले खोलेका अधिकांश कलकारखानाहरु बेचिए र बन्द गराइए पछि सयौं भारतीय कम्पनीहरु नेपाल छिरेका र छिराइएका छन्।

आज भारतीय उपभोग्य वस्तु र यसका विज्ञापनहरू नेपालीका घरघरमा पुग्दै गर्दा आफ्नो मुलुकका कृषकहरु बजार नपाएर आफ्नो उत्पादन सडकमा फाल्न बाध्य छन्।

आज एकातर्फ आयातित उपभोग्य बस्तुले बजारमा एकाधिकार कब्जा जमाएको छ भने अर्कोतर्फ विदेशी मुद्रा आर्जनको माध्यम कृषिजन्य उत्पादन, पर्यटन र निर्यातमुखी अर्थतन्त्र हुनुपर्नेमा सामान्य रोजगारीको निमित्त विदेशीन विवस युवाहरूको पसिनाबाट आर्जित बिदेशी मुद्रा विप्रेषणलाई उपभोग्य वस्तुको अनियन्त्रित आयातमा खर्च गर्ने गरेको छ नेपालले।

त्यसमा पनि कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावका कारण आफ्नो रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य हुने दसौं लाख नेपाली युवाहरूलाई एकातिर मुलुक भित्र व्यवस्थापन गर्नुपर्ने र अर्कोतिर मुलुकको वर्तमान अर्थतन्त्रको एक महत्वपूर्ण पाटोको रूपमा रहेको रेमिटान्सको बाटो बन्द हुने चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने समय नजिकिँदै छ।

विदेशी मुद्रा आर्जन गर्ने माध्यम रेमिटान्स रोकिएसँगै आयात नियन्त्रण र स्वदेशी उत्पादन उपभोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बाध्यता आइलाग्ने छ। त्यसको लागि आजैदेखि आन्तरिक उत्पादकत्व वृद्धि गर्ने नीति र तदनुरूपका कार्यक्रम तय गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरूरी छ।

भूमण्डलीकरण र खुला बजार अर्थतन्त्रको विश्वमा अर्थतन्त्रलाई पूरै आत्मनिर्भर बनाउन सम्भव नभए पनि हाम्रो जस्तो संबेदनशील मुलुकमा यो हदसम्मको आर्थिक परनिर्भरता अत्यन्तै जोखिमपूर्ण देखिन्छ।

हामी आज धानदेखि धँनियासम्म आयात गर्ने आर्थिक परनिर्भरताबाट मात्रै होइन बिदेशीका राजनीतिक एजेन्डा देखियुद्व सामाग्रीसम्म आयात र खपत गर्ने राजनीतिक र सुरक्षात्मक परनिर्भरताबाट समेत त्यत्तिकै अप्ठ्यारोमा परेका छौं।

मुलुकको आन्तरिक शक्ति संघर्षमा भारतीय सहयोग खोज्ने २००७ सालदेखिको प्रवृत्तिका कारण बिस्तारै हामी राजनीतिक परनिर्भरतातर्फ समेत धकेलिएका छौं ।

हिजो निरंकुशता विरूद्ध लड्ने नाउँमा हामीले आफ्नै मुलुकलाई नाकाबन्दी लगाइदिन भारतलाई निवेदन मात्रै हालेनौं, आज उसैले हिन्दीमा ड्राफ्ट गरेको १२ बुँदे सम्झौता अनुमोदन गरेर मुलुकको आन्तरिक मामिलामा बिदेशी शक्तिको संलग्नतालाई बैधानिकता दिने काम पनि हामीले नै गर्‍यौं।

परिवर्तनको लागि भन्दै दरबारसँग रहेको नेपाली सेनाको बफादारिताको साचो दिल्ली पुर्‍याउने खेल मात्रै खेलेनौं, बिदेशी खुफिया एजेन्सी र गुप्तचर निकायसँग सहकार्य र लेनदेन गर्ने नीति अपनाएर सैन्य एवं सुरक्षात्मक परनिर्भरतालाई समेत बढावा दियौं।

फलस्वरूप आज मुलुकको आन्तरिक मामलामा छिमेकीको प्रत्यक्ष हस्तक्षेप मात्रै बढेको छैन, मुलुक भित्र उसैको आशिर्वाद नभए कुर्सीमा पुग्न र टिक्न सकिँदैन भन्ने हिन भावना जागृत भएको छ।

चुलिँदो परनिर्भरतासँगै भारतीयको आँखामा आँखा जुधाएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा वकालत गर्नसक्ने नेतृत्व खट्किएको छ।

इतिहासले हामीलाई कुन बाटो सिकाएको थियो र हामी आज कहाँ आइपुग्यौं र यस्तो अवस्थामा हामीलाई कसले, किन र कसरी ल्याइपुर्‍यायो भनेर हामी मध्य कमैले सोच्ने गरेका छौं।

मुलुकको वर्तमान आर्थिक, राजनीतिक र सुरक्षात्मक परनिर्भरता र त्यसमा पनि वर्तमानमा हावी भएको भारतमुखी प्रवृत्तिलाई समयमै पहिचान र त्यसमाथि सुधार गरेर आजै मुलुकलाई आत्मनिर्भरताको बाटोमा हिँडाउने सामुहिक प्रयत्न गरेनौं भने ढिलो चाडो हामी पनि नुमान्टियनहरुको बाटोमा पुग्न सक्ने खतरा रहेको छ।

तसर्थ नेपालको उच्च स्वाभिमान र गौरवपूर्ण इतिहास जोगाउँदै मुलुकको दीर्घकालीन अस्तित्वलाई काल पर्यन्त जीवन्त राख्न, मुलुकलाई सर्वपक्षीय आत्मनिर्भरतातर्फ अगाडि बढाउने सामुहिक प्रतिबद्धता र प्रण गरिनु मुलुकको आजको आवश्यकता बनेको छ।

E-mail: ramananda.neupane@gmail.com

प्रकाशित मिति: : 2020-05-27 08:43:40

प्रतिकृया दिनुहोस्