अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश

कोरोनाको कहर र सीमा विवादले बल्झिएको घाउसँगै यतिखेर देशभित्रकै एउटा घटनाले राज्यको ध्यान केन्द्रीत गरेको छ।

जातीय छुवाछुत एवं भेदभावका कारण ज्यान लिएको एउटा घटनालाई आधार बनाएर यो सामाग्री तयार पार्दासम्म ३ जनाको मृत्यु भइसकेको समाचार छ। घटना पश्चिम नेपालका दुई छिमेकी जिल्ला रूकुम र जाजरकोटसँग जोडिएको छ।

जाजरकोटका २१ वर्षिय नवराज नेपाली रूकुम चौरजहारीकी एक मल्ल थरकी युवतीसँग विगत ३ वर्षदेखि प्रेममा रहेछन्। आफूभन्दा माथिल्लो जातको युवतीसँग प्रेम गरेका नजराजलाई केटीपक्षले अस्वीकार गर्दै आएका रहेछन्।

विवाह नहोस् भनेर केटीपक्षले केटापक्षविरूद्ध स्थानीय निकायमा मुद्दासमेत दर्ता गरिसकेका रहेछन्। तर यस्तो अवस्थामा दुबै बिचको प्रेम सम्बन्धले छुट्टिन नसक्ने भएपछि घरपरिवारलाई मनाएर बिहे गर्न असम्भव भएको रहेछ। त्यसपछि आफ्नी प्रेमिकाकै अनुरोधमा नवराज १९ जनाको समूह लिएर उनलाई लिन चौरजहारीतर्फ लागेछन्।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरेका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउन भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए। जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्‍यो। त्यसपछि उनले जति पिटाइ खाए पनि केही लागेन हैफेरि आइस् आज त मारेर फालिन्छ भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको एक घाइते युवाले बताएका छन्।

केटापक्षको समूह आउँदै गरेको थाहा पाएपछि केटीको परिवारले गाउँलेलाई गुहार्दै केटापक्षमाथि हमला भएछ।

उक्त आक्रमणमा परि नवराजसहित उनको साथमा गएका २ जना चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको मृत्यु भएको छ। बाँकी नदिमा हराईरहेका छन् भने केही भागेर बाँच्न सफल भएका रहेछन्। घटना मोटामोटी यति बुझिएको छ। तर कथित जातपात छुवाछुतको भेदभावको असर सोचेभन्दा निकै पीडादायी बनेको छ।

संयोगले घटनाको अन्तर्वस्तु आफैंसँग जोडिन्छ। घटनामा ज्यान गुमाउने टिकाराम नेपालीका वुवा सुरेन्द्र नेपाली र म दौतरी हौं। रूकुमको चौरजहारी निवासी हामी बाल्यकालदेखि तन्नेरी अवस्थासम्म सँगै खेलेर हुर्कियौं । म कथित ब्राम्हण र उनी दलित जातको भए पनि हामीबीच कहिल्यै भेदभाव भएको मलाई सम्झना छैन।

झण्डै दुई दशकअघिको कुरा हो । सुरेन्द्रले छिमेकी जिल्ला जाजरकोटकी एक माथिल्लो थरकी युवतिलाई मन पराएछन्। उनीहरुबीच चिनजान र भेटघाट बाक्लिँदै गएपछि प्रेमको रूप लिएछ। तर विवाहका लागि केटी पक्षले अनुमति दिने कुरै रहेन। उनीहरू एक आपसमा छुट्टिन नसक्ने भएपछि भागेर विहे गर्ने निर्णय गरेछन्।

स्थानीयरूपमा लाग्ने एउटा मेलाको दिन सुरेन्द्रले ती युवतीलाई भगाउने निर्णय गरेकोले यसमा सहयोग गर्न मलाई अनुरोध गरेका थिए। आफ्नो दौतरी साथीले त्यसो भनेपछि तयार नहुने कुरै भएन। परिपक्व बनिनसकेको त्यो उमेरमा साथीको लागि बढी समर्पणको भावना हुनेगर्छ। मसहित अरू आधा दर्जन साथीहरू उनलाई सहयोग गर्न तयार भयौं।

मेला मध्यरातसम्म चल्थ्यो। मेला नसकिदै उनले भगाएर लैजाने कुरा आफ्नो प्रेमिकालाई थाहा दिएर भीडबाट केही छेउतिर आउन अनुरोध गरेछन्। भीडभन्दा केही छेउतिर आफ्नो प्रेमिका भएतिर सुरेन्द्रले हामीलाई लिएर गए।

सुरूमा सुरेन्द्रले आफ्नो प्रेमिकालाई छोएर भगाउन अनुमति दिनुपर्थ्यो। उनले अनुमति दिइसकेपछि हामीमध्येकै एक जनाले उनकी प्रेमिकालाई समातेर काँधमा राखेर अगाडि दौडिए। हामीसँगै सुरेन्द्रको घरतर्फ दौडियौं। ती युवति चिच्याउन थालिन्। उनका साथी पनि केही परसम्म हाम्रो पछिपछि दौडिए। तर उनीहरूले हामीलाई भेट्टाउनसक्ने कुरै थिएन।

युवति चिच्याउँदै गाली गर्दै थिईन्। त पिटेजस्तो गर, म रोएजस्तो गर्छु भन्ने आसयमा यो प्रकृतिको भगाउने घटना हुने गरेको मैले बुझेको थिए। तर उनको चिच्याहटले मलाई कताकता मनमा आफ्नो साथीले मात्र युवतिलाई मन पराएको जसमा उनी राजी छैनन् कि भन्ने लागिरह्यो। तर उमेरका हिसावले मलाई यो विषय छुट्टयाउने त्यति भेउ थिएन। साथीको घरमा ती युवति छोडेर हामी त्यहाँबाट बिदा भयौं।

भगाएर गरिने यस प्रकारको विवाहलाई त्यतिखेर स्थानीय रूपमा रक्छिने प्रथाको रूपमा लिइन्थ्यो। यो प्रथाअनुसार युवायुवतिबीचको मन्जुरी भए पनि परिवारले अस्वीकार गर्ने अवस्थामा यसरी भगाएर विवाह गर्ने गरिन्थ्यो। यद्यपी केटीलाई वानसाईटेड मन पराएपछि जवरर्जस्ती भगाएर विवाह गरेका केही घटनाहरू पनि नसुनिएको होइनन्।

एक पटक त्यसरी केटाको घरसम्म पुगिसकेपछि केटीपक्षलाई जन्मघरमा फर्किन सजिलो हुँदैनथ्यो। विशेष गरि अन्तरजातीय विवाहको क्रममा यस्तो हुँदै आएको थियो। यो अवस्थामा भने केटीपक्षलाई पीडा हुने गरेको पनि सुनिन्थ्यो। आफू संलग्न त्यो घटनामा दौतरी सुरेन्द्र र ती युवतीबीच विवाह भएको दुई दशक नाघिसकेको छ।

देशको बेरोजगारी समस्याले देश विदेश गरे पनि दुई सन्तान एक छोरी र एक छोराका साथ उनीहरूको जीवन राम्रै देखिन्थ्यो, बाहिरबाट हेर्दा।

म सुरेन्द्रको लागि त्यतिबेला जे कामका लागि जसरी गएको थिएँ। उनका छोरा टिकाराम पनि आफ्ना साथी नवराजको लागि त्यसरी नै गएका थिए। फरक यति मात्र हामी घरमा जानुपरेन र बाचियो जस्तो लाग्छ। तर उनीहरू केटीको निवासस्थलमै पुग्ने क्रममा ज्यान गुमाउन पुगे।

त्यो घटना र यो घटनाको स्वरूप धेरै मिल्न जान्छ। तर समय धेरै बितिसकेको छ। सामाजिक चेतनास्तर बदलिसकेको भनिएको आफ्नै गाउँ र वरपरको यो घटनाले स्तव्ध मात्र बनाएको छैन, एक्काईसौ शताव्दीको मानव जीवनकै सभ्यतामा उपहास गरेको छ।

छोरा गुमाउनुको पीडा एक ठाउँमा छँदैछ त्यसमा समाजले तल्लो जात भनेर गर्ने भेदभाव र दिने पीडाले सुरेन्द्रको परिवार स्तव्ध छ।

भाग्यले सुरेन्द्र र म स्वयं उतिखेर कसरी बचेछौं अहिले सुरेन्द्र बनेर गएका नवराजले ज्यान गुमाए। नवराजले आफूमात्रै होइन सुरेन्द्रको लागि गएका मजस्तै सहयोगी स्वयं सुरेन्द्रकै छोरा टिकारामलगायत थप साथी पनि गुमाउनुपर्‍यो।

देशमा जातीय भेदभावलाई दण्डनीय अपराध भनेर कानुन बनाएको झण्डै ६ दशक पुग्न लागिसक्यो तर अवस्था ज्यूका त्यूँ छ। पछिल्लो परिवर्तन पश्चात छुवाछतमुक्त राष्ट्र घोषणा भएको १३ वर्ष भइसक्यो। तर जातीय भेदभावका कारण दुःखद् घटनाहरु घट्ने क्रम अझै रोकिएका छैनन्।

यो विषय अहिलेसम्म धेरैलाई गफ गर्ने र राजनीति गर्ने बहाना मात्रै बन्दै आएको छ। सुनिन्छ यो घटना पनि विस्तारै राजनीतिक दलको एजेण्डा बन्न थालिसकेको छ। स्थानीय निकायका जिम्मेवार व्यक्तिहरू पक्राउ परेका व्यक्तिलाई छुटाउने क्रममा छन्। त्यसो भएमा राजनीतिक परिवर्तन र बनेका कानुनले चिर्न नसकेको यो समस्याको पीडा केवल भोग्नेमा मात्र सिमित हुँदै जानेछ।

कालान्तरमा कथित तल्लो जात भनेर मानिएका अरू नजराज, टिकाराम, उनीहरूका सहयोगी र तीनका परिवारले समेत यसप्रकारका पीडा झेल्दै जानेछन्।

विश्वास नगरे पनि आशा गरौं, सीमा विवादमा छिमेकी देशसँग लड्न तयार रहेको बताउनेले देशभित्रकै समस्यामा नियतवस डराउने छैनन्। पीडक नउम्कियोस् पीडितले न्याय पाओस्।

रूकुम चौरजहारीका आचार्य हाल अमेरिकामा छन्।

यो पनि हेर्नुहोस्-

प्रकाशित मिति: : 2020-05-26 19:00:00

प्रतिकृया दिनुहोस्