विदेशमा अप्ठ्यारोका परेका नेपालीको सूची तयार पार्न १० दिनको समय, त्यसपछि ल्याउने उच्चस्तरीय समितिको निर्णय

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न देशमा रअप्ठ्यारोमा परेर रोकिइरहेका नेपाली नागरिक पहिचान गरी सूची तयार गर्न १० दिनको समय तोकेको छ । त्यसपछि उनीहरुलाई नेपाल ल्याउने तयारी समितिको छ।

तत्काल फर्किनुपर्ने र जरुरी कामले स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकको पहिचान गरी सूची बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको छ ।

स्वदेश फर्काउने पहिलो प्राथमिकतामा कार्यक्षेत्रबाट निकालिएर अलपत्र हालतमा रहेका, विदेशमा उपचार गर्न गएका, विदेशमा रोकिएका कारण आफन्तको काजकिरिया गर्न नपाएका नेपालीलाई राखेको छ । विभिन्न देशमा रोकिएका त्यस्ता नागरिकको सूची १० दिनभित्र तयार हुने एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले बनाएको कार्यविधिअनुसार विदेशबाट आएकालाई त्यस्ता व्यक्ति राख्‍न केही होटललाई पनि क्वारेन्टाइन बनाइने भएको छ ।

टलको खर्च भने स्वयमले नै व्यहोर्नुपर्ने छ । विदेशबाट फर्किएका नेपालीको स्वास्थ्य परीक्षण र उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयको हुनेछ भने आर्थिक व्यवस्थापनको पाटो अर्थ मन्त्रालय नै हेर्ने गरी तोकिएको छ ।

होटेलमा बस्नेबाहेक अरु क्वारेन्टाइनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ । स्वदेश ल्याएपछि व्यवस्थापनका लागि सम्बन्धित प्रदेशलाई जिम्मा दिइने हुनाले त्यसको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गरी तोकिएको हो ।

संघीय सरकारले विदेशबाट आएका नेपाली र कोरोना संक्रमितको उपचारको व्यवस्थापन हेर्न  सातवटै प्रदेशमा संयोजक पनि तोकेको छ । जसअनुसार प्रदेश नम्बर १ भौतिक निर्माणमन्त्री वसन्त नेम्वाङ, प्रदेश नम्बर २ श्रममन्त्री रामेश्वर राय यादवलाई तोकिएको छ भने  बागमती प्रदेशमा पार्वत गुरूङ, गण्डकीमा पद्मा अर्याल, प्रदेश  ५ मा वर्षमान पुन, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टले संयोजन गर्ने छन् ।

आजको बैठकमा लकडाउनको विषयमा के गर्ने भन्नेबारे केही पनि निर्णय गरिएको छैन । भारत सरकारले  गर्ने निर्णयका आधारमा फेरि बसेर निर्णय गरिने  सहभागी एक मन्त्रीले नाम नलेख्न अग्रह गर्दै बताए ।

प्रकाशित मिति: : 2020-05-29 18:47:43

प्रतिकृया दिनुहोस्