एन्फाको कार्यसमिति बैठक बस्दै

पछिल्लो समय संघभित्र मौलाउँदै गएको अनुशासन विपरीतका कार्य र त्यसबारे निर्णय गर्न अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ। 

भिडियो कन्फरेन्स मार्फत हुने बैठक बिहान ११ बजेपछि सुरु हुने अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। बैठकमा छलफलका लागि एन्फाको वार्षिक बजेट, कोरोना राहत वितरण, अनुशासन समेत गरी ५ एजेण्डा तय भएको छ ।

कोरोना प्रभावित जिल्ला, क्लव र खेलाडी एवं अफिसिलयललाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ। कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो । 

त्यस्तै, महामारीका बीच एन्फाले सबै प्रदेश र जिल्लासँग वार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरिसकेको छ । बैठकले यसअघि चैतका लागि तय संघको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्नेछ ।

यस्तै, बैठकमा अनुशासनलाई समेत एजेण्डालाई बिषय प्रवेश गराईएको छ । अनुशासन विपरीत क्रियाकलाप गरेको भन्दै एन्फाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभासम्मका लागि निलम्बन गरेको छ । 

एन्फाले सचिवालय बैठकले गरेको सोही निर्णयलाई कार्यसमिति बैठक मार्फत अनुमोदन गराउने तयारी छ । तर, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले थापामाथिको कारबाही विधिसम्मत नभएको भन्दै विरोध गर्दै आएका छन् । 

प्रकाशित मिति: : 2020-06-01 09:15:21

प्रतिकृया दिनुहोस्