धरानमा उपचाररत १८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। निको हुनेमा झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला रहेको अस्पतालले जनाएको छ।

उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको हो। दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको  छ। यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए।

प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन्।

प्रकाशित मिति: : 2020-06-02 09:51:25

प्रतिकृया दिनुहोस्