रूकुम घटनाका सबै वेपत्ताको शव भेटियो

बिएल संवाददाता

रुकुम पश्चिम

रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते शनिबार भएको घटनामा परी बेपत्ता भएका ६ जनाकै शव भेटिएको छ। बेपत्ता रहेका भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाहीको शव मंगलबार दिउँसो भेटिएपछि रूकुम घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। शाहीको शव जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ को खोदा खोला नजिक भेटिएको उनका आफन्तले बताएका छन् ।

भेरी नगरपालिका ४ का नवराज बिकको प्रेमिकालाई ल्याउन रूकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गएको बेला घटना भएको थियो। १७ वर्षिया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेको आक्रमणमा परि उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन्।

यसैबीच उनीहरूले आरोप लगाएजसरी आक्रमण नगरेको स्थानीयले बताएका छन्। गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकालाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताए।

मृतकका आफन्तले भने गाउँलेले ढुंगामुढाले कुटेर मारेको आरोप लगाएका छन् ।

उक्त घटनामा परेका भेरी नगरपालिका ४ का नवराज बिकको शव घटनाकै दिन शनिबार राति भेरी नदि किनारमा भेटिएको थियो। आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षिय टिकाराम बिकको शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो।

सोमबार भेरि नगरपालिका वडा नं. ४ का २१ वर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो। उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो।

त्यसैगरी भेरी नगरपालिका वडा नं. ११ का १८ वर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो। उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो।

आज मात्रै १७ वर्षिय गोविन्द शाहीको शव टिकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको हो।

मृतकका आफन्तजनले घटनामा संलग्न २० जना बिरूद्ध किटानी जाहेरी दिएका छन्। वडा अध्यक्ष सहित १८ जनालाई पक्राउ गरेर रूकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-06-02 19:37:43

प्रतिकृया दिनुहोस्