जुम्लामा जारी निषेधाज्ञा थप कडा गर्दै निरन्तरता दिने निर्णय

सम्भावित उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जुम्लामा जारी निषेधाज्ञा थप कडा गर्दै निरन्तरता दिने निर्णय गरेको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन भन्दै निषेधाज्ञा जारी राखेको जानकारी दिए।

‘सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरी सो को संक्रमण जोखिम न्यूनिकरण,  रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि औषधि उपचारबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको तथा जिल्ला भित्रका औषधि पसलबाहेक पूर्णरूपमा बन्द गर्ने र अन्य कार्य नगर्न नगराउन हुन जेठ २१ गते बिहान ९ बजेदेखि जेठ २३ गते राति १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम  निषेधाज्ञा जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।  

प्रकाशित मिति: : 2020-06-02 22:51:50

प्रतिकृया दिनुहोस्