लोक सेवा आयोगले भन्यो- ‘अन्तर्वार्तामा आउँदा पीसीआर रिपोर्ट अनिवार्य ल्याउनुहोला’

लोक सेवा आयोगले अन्तर्वार्ताका लागि आउनेलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गराएको छ। 

आगामी २ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्‌वारलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको भन्दै सूचना प्रकाशित गरेको हो। 

आयोगले आज एक सूचना जारी गर्दै मामिला प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने उम्मेद्‌वारमध्ये काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यकाबाहिर गई आएकाले अन्तर्वार्ता अगावै आफ्नो कोभिड–१९ पीसीआर परीक्षण गराई त्यसको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन भनिएको हो। 

१९ जेठमा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (प्राविधिक र प्राविधिक) विभिन्न पदका विज्ञापनको द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। 

उक्त अन्तर्वार्तामा सहभागी हुने उम्मेद्‌वारमध्ये काठमाडौंबाहिर रहेका वा बाहिर गई आएकाले अनिवार्य रूपमा कोभिड-१९ परीक्षणको रिपोर्ट बुझाउनुपर्ने भएको हो। 

स्वास्थ्य परीक्षण गराउन कुनै कठिनाइ आइपरेमा आयोगका उपसचिव सन्तोषप्रसाद दाहाल (मोवाइल नं. ९८५१०९६११८) लाई सम्पर्क गर्न भनिएको छ। 

सचिव तथा सो सरहको अन्तर्वार्ताका लागि आन्तरिक प्रतिस्पर्धामा ३४ जना छन् भने खुल्ला तथा समावेशीतर्फ २२ जना उम्मेद्‌वार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2020-06-02 23:09:14

प्रतिकृया दिनुहोस्