कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

टेकराज थामी/रमेश रावल

विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ । नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको गाडी किनेका छन् ।

गाडीको मूल्य प्रदेशको आर्थिक हैसियत र नियमावलीविपरीत भएको भन्दै आर्थिक मामिला मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको छ । तर, सभामुखले गाडी काठमाडौंको युनाइटेड ट्रेड सिन्डिकेटबाट एक करोड ७२ लाखमा टोयोटा हाइल्यान्डर लगेर सुर्खेत र दैलेख घुम्न थालिसकेका छन् । 

प्रदेशका सभामुखकै निर्वाचन क्षेत्र दैलेखको भैरवी गाउँपालिका– ३ को देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका चारजनामा र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनको नाममा अस्पतालमा होइन, भैंसीगोठमा राखिएको छ ।

आरडिटी पोजेटिभ देखिएपछि चिकित्सकको निगरानीमा राख्ने, पिसिआर टेस्ट गर्ने र स्वास्थ्य हेरचाह गर्नुपर्नेमा प्रहरी लगाएर गोठमा पठाइएकोमा प्रदेश र देशमा विरोध भइरहेको छ ।

‘हामीसँग अरू पूर्वाधार छैन, देशको आर्थिक अवस्था सबैलाई थाहा छ, त्यसैले र्यापिड टेस्टमा पोजेटिभ देखिएका चारजनालाई नजिकैको भैँसीगोठमा राखिएको हो,’ गाउँपालिका अध्यक्ष प्रेम बुढाले नयाँ पत्रिकासँग भने । 

प्रकाशित मिति: : 2020-06-03 07:23:17

प्रतिकृया दिनुहोस्