रुकुम घटनाको बिरोधमा ढल्केवरमा निकाले गैर दलितले पनि र्‍याली

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोध भईरहेको छ। रूकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवा नवराज बिक र उनका साथीहरुलाई गाउँलेले लखेटेर हत्या गरेको विरोधमा धनुषाको ढल्केवरमा गैर दलितहरुले र्याली निकालेर दोषी माथी कानुनी कारबाहीको माग गरेका छन्।

‘चौरजहजारी घट्नाका दोषीलाई सरकारले तत्काल कानुनी कारवाही गर्नु पर्ने माग गरेर र्‍याली निकालेका हौँ’, र्‍यालीमा सलंग्न मिथिला नगरपालिका ७ ढल्केबरका दिलिप महतोले भने।

यही जेठ १० गते साँझ भएको घटनामा भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिकको मृत्यु भएको थियो।

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ। केटी पक्षका केही बिरुद्ध किटानी जाहेरी परेको छ। 

युवायुवतीको उल्लेख्य सहभागिता रहेको र्‍यालीमा करिब ७० जनाको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले ‘हत्यारालाई आजिवन काराबास दे’, ‘शान्ति सुरक्षा कायम गर’, ‘मानव–मावन एक हौ’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित ढल्केवरको पूर्वचौकबाट निकालिएको बिरोध र्‍याली ढल्केवर चोकको नगर परिक्रमा गरी कोणसभा गरेको थियो।

कोण सभामा विश्वकर्मा समाज प्रदेश २ का संयोजक मिन रहपाल ,विश्वकर्मा समाज प्रदेश २ का सदस्य लक्ष्मण बराइली, संयुक्त दलित संषर्घ समितिका धनुषा अध्यक्ष मेघ बहादुर सेञ्चुरी लगायतले बोलेका थिए। 

युवाहरु दिलिप साह, राजु खड्का, बिष्णु लोहागुनको सक्रियतामा निस्किएको र्‍यालीमा मिथिला ७ नं. वडाध्यक्ष रामो साह तेली (रम्बा) लगायतको सहभागिता थियो।

प्रकाशित मिति: : 2020-06-03 09:28:10

प्रतिकृया दिनुहोस्