प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ९६१ पुग्यो 

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको छ।

 पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो। यसअघि, यस प्रदेशमा ८५९ सङ्क्रमित थिए।

सप्तरीमा १२, धनुषामा एक महिलासहित छ, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा छ र नौँ वर्षीय दुई बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा एक गरी १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए। 

यसैबीच, यस प्रदेशबाट १२२ जना निको भएर घर फर्केका छन्। 'घर फर्कनेमा पर्सामा ९६, बारामा नौ, धनुषामा चार, रौंतहटमा तीन, सर्लाहीमा एक र महोत्तरीमा तीन, सप्तरीमा एक र भारत तथा अन्य प्रदेशका गरी पाँच जना निको भएर घर फर्केका छन्' उनले भने। 

यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ। सोमध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ।

 कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ। यस प्रदेशको विभिन्न जिल्लामा ४११ वटा क्वारेन्टिन सञ्चालनमा रहेका र सो क्वारेन्टिनमा ३१ हजार ११९ शय्याको व्यवस्था गरिएको छ। यतिखेर, क्वारेन्टिनमा २२ हजार ९६१, होम क्वारेन्टिनमा सात हजार १५ र आइसोलेशनमा ५८९ जना बसेका छन्।

प्रकाशित मिति: : 2020-06-04 20:53:19

प्रतिकृया दिनुहोस्